झाडापखला लाग्दा जीवनजलसमेत नपाएर नरैनापुरमा एक बालकसहित एकै परिवारका ४ जनाको मृत्यु

काठमाण्डौं– बाँकेको नरैनापुर गाउँपालिका–३, गेग्ली गाउँमा झाडापखालाका कारण मृत्यु भएको भनिएका ४ जनाको शरीरमा पानीको कमी भएका कारण मृत्यु भएको पुष्टि भएको छ। त्यहाँ १ बालकसहित एकैपरिवारका चार जनाको मृत्यु भएको थियो।

स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी एवं महामारी रोगका ‘फोकल पर्सन’ नरेन्द्र श्रेष्ठले झाडापखालाका कारण शरीरमा पानीको मात्रा कमी हुनाले ७२ घण्टामा चार जनाको मृत्यु भएको बताए।

नरैनापुर गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नागेन्द्र शाहले मृतकको उपचार गर्न समय नै नपाएको वताए। उनका अनुसार मृतक चारैजनालाई झाडापखाला भएको समयमा जीवनजललगायत अन्य झोलिलो पिउने पदार्थको अभाव भएको थियो।

स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा झाडापखाला भई शरीरमा पानीको मात्रा कमी भएकाले उनीहरुको मृत्यु भएको पुष्टि भएको उल्लेख छ। १४ भदौदेखि फैलिएको झाडापखाला महामारीका रुपमा भने नरहेको स्वास्थ्य शाखाले जनाएको छ।

गेग्लीका श्यामलाल पासीको घरमा पहिलोपटक झाडापखालाको सङ्क्रमण देखिएको थियो। स्वास्थ्य शाखा प्रमुख शाहले मृतकलाई आफन्तले बिरामी हुँदा भारतीय क्लिनिकमा उपचार गराएको र सोही क्रममा मृत्यु भएको जानकारी दिए। मृत्यु भएपछि मात्रै जिल्ला स्वास्थ्य कार्यालयलाई जानकारी भएको उनको भनाई छ।

शाहले १४ भदौमा ७५ वर्षीय शान्ति पासी, १५ भदौमा उनकी २६ वर्षीया बुहारी उषा पासी र १६ भदौमा सोही परिवारकी डेढ वर्षकी नाबालिका नन्दनीको मृत्यु भएको बताए। यसैगरी, सखावत अलिका १० वर्षका छोरा युसुफको पनि मृत्यु भएको छ। समयमा उपचार नगराएका कारण ४ जनाको ज्यान गएको शाहको भनाई छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट