ओलीमाथि बालेनको आक्रामक अभिब्यक्तिः ‘ज्ञानविहीन’ भन्दै व्यंग्य

काठमाण्डौं– काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘ज्ञानविहीन’को संज्ञा दिदै कार्यकर्तालाई पनि आफु जस्तै नवनाउन सुझाव दिएका छन्।

साहले सोमवार फेसबूकमा लामो स्ट्याटस लेख्दै नेकपा (एमाले)का अध्यक्षसमेत रहेका ओलीलाई ‘ज्ञानविहीन’ भनेका हुन। जेल जान सक्ने सम्भावना देखेर लुम्बिनी प्रदेशकी एमाले सांसद रेखाकुमारी शर्माले त्यसबाट जोगिन आफैँ सर्वोच्च र उच्च अदालतमा मुद्दा हाल्दै हिँडेको आरोप साहको छ।

यसै विषयलाई लिएर उनले ओलीमाथि कटाक्ष गरेका हुन्। ‘अहिले बजारमा सर्वोच्चको फैसलाको आधा पाठ ल्याएर भ्रम छर्ने काम भएको छ जबकि सर्वोच्चको मुद्दा रेखा कुमारी र महानगर बिचको मुद्दा होइन। बालिकाको बाबुले मेरो छोरी महानगरले अपहरण ग¥यो भनी बन्दी बनाएको भन्ने रिट हालेका हुन। जुन रिट अदालतले खारेज गरेको छ। अदालतले खारेज गरेपछि महानगरले गरेको उद्धार सही थियो भन्ने पुष्टि भएको कुरा छर्लङ्ग नै छ।’– उनले लेखेका छन्।

आमा बाबु भएका बालबालिकाको जैविक आमा बुबासँगै बस्न पाउने अधिकार हुन्छ भन्दै उनले सर्वोच्चले त्यसको बारेमा पनि बोल्दै बाबु आमाले समेत भेट्न पाउने गरी महानगरपालिकाले बालिकाको पालनपोषण, शिक्षादीक्षा र स्वास्थ्यको प्रबन्ध गर्नु भनी परमादेश दिएको उल्लेख गरेका छन्।

‘हाम्रो द्वन्द्व बालिकाको आमा बाबुसँग थिएन। त्यसैले बालिकाको बाबु आमाले बालिकालाई महानगरकै संरक्षणमा रहने गरी जिम्मा दिएका छन्। बालिकाको उद्धार त भयो तर बाबुआमा जीवित हुदाँहुदै बाबुआमाको काखबाट खोसेर यो हदसम्मको अन्याय र शोषण गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउनु पर्छ कि पर्दैन?’– उनले प्रश्न गरेका छन्।

महानगरले जेठ १४ गते बालिकाको उद्धार गरेपश्चात् ३ चरणको काउन्सिलङ गरेको काउन्सिलङमा विगत ८ वर्षदेखि बाबुआमा नभेटेको विषय खुलेको जनाएका साहले ‘घरमा पोछा लगाउने, करेसाबारीमा काम गर्ने, खाना पकाउने लगायतका काम गर्नुपर्ने, केही काम बिगार्दा घरधनी रेखा कुमारी शर्माले लट्ठी र पाइपले पिट्ने गरेको, तेरो मुख जलाइदिन्छु भनी धम्की दिने गरेको’ भन्ने खुल्न आएको उल्लेख गरेका छन्।

‘जेठ २५ गते देखि नै प्रहरीसँग अनौपचारिक कुरा गरी उद्धार भएका बालबालिकाको मुद्दा एकीकृत रूपमा अघि बढाउने गरी तयारी हुँदै गर्दा प्रहरीबाटै सांसद विरुद्ध जाहेरी पर्न लागेको भन्ने सूचना चुहाएर महानगरको जाहेरी भन्दा अगावै निज रेखा कुमारी शर्माको फन्डिङमा नै बालिकाको बाबुको नाउँमा सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दा हाल्न लगाइन्छ’ उनले भनेका छन्–‘यसरी जेठ २७ गते रेखा कुमारी शर्माले बालिकाको बाबुलाई प्रयोग गरी महानगरका विरुद्धमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दर्ता गरिएपछि मात्रै प्रहरीले रेखा कुमारी शर्मालाई विपक्षी बनाइ बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ को बालबालिका विरुद्धको कसुरको उपदफा २(ङ) र मुलुकी फौजदारी संहिता एन २०७४ को दफा १६३ अन्तर्गतको दास बनाउन नहुने कसुरमा दायर गरेको जाहेरी दर्ता गर्छ।’

‘यता प्रहरीले घटनास्थल मुचुल्का लगायत अनुसन्धानको काम गर्दै गर्दा रेखा कुमारी शर्मा निषेधाज्ञाको मुद्दा लिएर उच्च अदालत पाटन पुग्छिन्। अदालतले अन्तरिम आदेश जारी गर्दै प्रहरीलाई धरपकड नगर्नु (पक्राउ नगर्नु) भन्दै आदेश ग¥यो। उक्त मुद्दाको बहस र बालिकाको बाबुको सर्वोच्चको मुद्दाको बहस दुवैमा वरिष्ठ अधिवक्ता टङ्क प्रसाद दुलाल र विद्वान अधिवक्ता रेणुका सिटौलाले बहस गर्नुभएको थियो। यसले रेखा कुमारी शर्माकै डिजाइनमा बालिकाको बाबुले महानगरका विरुद्ध बन्दी प्रत्यक्षीकरणको रिट हालेको देखिँदा उनको प्रत्यक्ष संलग्नता पुष्टि गर्दछ’– साहले लेखेका छन्।

‘उच्च अदालतको अन्तिम फैसलाले रेखा कुमारी शर्माको निषेधाज्ञाको रिटको दाबी नपुग्ने भन्दै प्रहरीलाई अनुसन्धान गर्ने बाटो खोलेको छ। श्रावण २३ गते आएको उच्चको फैसला कार्यान्वयनका लागि प्रहरीलाई लिखित पत्र र मौखिक मार्फत पटक पटक ताकेता गरे तापनि कुनै पनि जवाफ नआएको अवस्था छ’ उनले लेखेका छन्–‘समग्रमा भन्नुपर्दा रेखा कुमारी शर्माले आफूले गरेको कसुरमा जेल जान सक्ने सम्भावना देखेर आफू छलिन र जोगिन आफै सर्वोच्च र उच्च अदालतमा मुद्दा हाल्दै छिन र आफै हार्दै छिन। महानगरले उनी विरुद्ध हालेको मुद्दा त प्रहरीले अनुसन्धान अघि बढाएकै छैन। अदालतमा प्रवेश गरेकै छैन र हामीले उठाएको कुरा नै त्यही नै हो कि उनले गरेको कसुर बमोजिमको कसुर बमोजिमको कारबाही अघि बढ्नुपर्छ।’

त्यसपछि उनले ओली प्रति ब्यंग्य गरेका छन्। ‘प्रधानमन्त्री खडक प्रसाद ओली ज्यु तपाईं आफ्नो कार्यकर्ताहरुलाई सामन्य ज्ञान दिएर राजनितिमा लगाउनु होला। पछि यस्तै ज्ञान बिहिन भएर देश चलाउने ठाउँमा पुग्दा तपाइजस्तै अरु को इशारामा चल्ने हुनुपर्ला।’ उनले लेखेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट