गाईको मासु खाएको आरोपमा मुस्लिम युवकको कुटेर हत्या, बालबालिकासहित ७ जना पक्राउ

काठमाण्डौं– भारतको राजधानी दिल्लीबाट करिब १५० किलोमिटर टाढा हरियाणाको चरखी दादरीको बधरा क्षेत्रमा गाईको मासु खाएका २४ वर्षीय मुस्लिम युवको कुटकुटी हत्या गरिएको छ। गौ संरक्षणमा संलग्न ब्यक्तिहरुले गत २७ अगस्तमा युवकको हत्या गरेका हुन।

पश्चिम बंगालको दक्षिण २४ परगना जिल्ला घर भई फोहर संकलनको काम गर्ने साबिर मलिक नामका ती युवक परिवारसहित चरखी दादरीको बस्तीमा बस्थे। बधरा बस स्ट्यान्डअगाडि बस्ने मुस्लिम बस्तीका मानिसले गाईको मासु खाने गरेको आशंका गौ संरक्षण टोलीलाई थियो। त्यसपछि गौ संरक्षण टोलीका व्यक्तिले २७ अगस्टमा झुपडीवासीसँग सोधपुछ गर्न थाले।

त्यही क्रममा उनीहरूले एउटा भाँडामा मासुको टुक्रा देखे र त्यो गाईको मासु भएको शंका गरे। त्यसपछि उनीहरूले बस्तीमा बस्ने शबरुद्दिन नाम गरेका व्यक्तिलाई पक्रेर सोधपुछ गरे। यो घटनाको भिडिओ पनि बनाइएको छ।

साबिरका आफन्त शबरुद्दिनलाई मासुको टुक्रा गाईको मासु हो कि होईन भनेर सोधियो। उनले भैँसीको मासु भएको बताएर भाग्ने प्रयास गरे। तर गौ संरक्षण समूहसँग सम्बन्धित व्यक्तिहरूले उनलाई पक्रेर फिर्ता ल्याए र क्यामेराअगाडि त्यो गाईकै मासुको टुक्रा भएको स्वीकार गर्न बाध्य पारे।

यसबारे गौ संरक्षकहरूले बधरा प्रहरीलाई पनि जानकारी गराए। त्यसपछि प्रहरी घटनास्थल पुगेर मासुको टुक्रासहित केही व्यक्तिलाई प्रहरी चौकीमा लग्यो। प्रहरीमा घट्नाको विषयमा उजुरी पनि पर्यो। उजुरीकर्ता सजाउद्दिन सरदारले आफू र उनका नातेदार साबिर मलिक बध्दाको जुई रोडमा रहेको बस्तीमा बस्ने बताए। साबिरले सरदारकी बहिनी सकिनासँग विवाह गरेका थिए। साबिरको काम फोहोर जम्मा गर्ने थियो।

‘२७ अगस्टमा केही मानिसहरू आए। उनीहरूले तिमिहरुले खाएको मासु गाईको हुनसक्छ भने। हामीलाई प्रहरी चौकी लगियो। त्यसपछि केही केटाले मेरा दाजु साबिर मलिकलाई बस स्ट्यान्डमा लिएर गए’ असिरुद्दिन भनेका छन्–‘साबिरलाई भनियो कि केही कबाड सामान दिनुपर्नेछ। साबिरलाई बस स्ट्यान्ड बोलाएपछि अर्का व्यक्ति असिरुद्दिनलाई पनि बोलाइयो र त्यसपछि चार÷पाँच जना केटाले दुवैलाई लाठीले कुटे। अनि उनीहरूले सबैका सामुन्ने दुवैलाई मोटरसाइकलमा राखेर लगे। यसको भिडिओ पनि मैले देखेको छु।’

असिरुद्दिनका अनुसार गौ संरक्षकहरू प्रहरीसँगै चौकीमा गए। उनीहरूले बस्तीमा बस्नेलाई मुद्दा दर्ता गर्न दबाब दिए। यसपछि साबिर मलिकलाई बधडा बस स्ट्यान्डनजिक बोलाएर लाठीले कुटिएको उनले बताए। स्थानीयले बचाउन खोजेपछि गौ संरक्षण टोलीले साबिरलाई मोटरसाइकलमा लिएर गएको थियो।

एफआईआरका अनुसार २७ अगस्टको राति भान्डवा गाउँनजिकै अज्ञात व्यक्तिको शव भेटियो। पछि शव साबिर मलिकको भएको पत्ता लाग्यो। मृतक साबिर मलिकका आफन्त सजाउद्दिन सरदारको उजुरीका आधारमा २८ अगस्टमा बधडा प्रहरीले ७ जनाविरुद्ध जाहेरी दर्ता गरेको थियो। तीमध्ये दुई जना नाबालिग छन्।

उनीहरुविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ। दुई नाबालिगलाई सुधार गृह पठाइएको छ भने बाँकी सबै अभियुक्त हाल प्रहरी हिरासतमा छन्। यो घटनापछि गाउँका वासिन्दा डर र त्रासले अन्यत्र सर्ने योजनामा छन्।

गाईको मासुको विषयमा कुनै पनि प्रवासी मजदुर बोल्न तयार छैनन्। ३० तारिखका दिन सबैजना दादरी छोडेर पश्चिम बंगाल फर्कने तयारीमा हुँदा प्रहरीले सुरक्षा प्रदान गरेको थियो।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट