‘सुगर ड्याडी’को आक्रमणमा मारिईन मुना पाण्डे, बबीसिंह भारतीय मुलका नागरिक भएको खुल्यो

काठमाण्डौं– अमेरिकाको टेक्सास स्थित ह्युस्टन शहरमा नेपाली किशोरी २१ वर्षीया मुना पाण्डेको हत्या आरोपमा पक्राउ परेका ५१ वर्षीय बबीसिंह साह भारतीय मुलका नागरिक भएको खुलेको छ।

कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले साह नेपाली भएको दावी गरिरहेका थिए। तर, उनी नेपाली भएको पुष्टी कतैबाट पनि भएको छैन। अदालती कागजातमा पनि बबीसिंहको जन्मस्थान खुलाइएको छैन। तर अनुसन्धानका क्रममा उनका आफन्त भारतीय मूलका शिख समुदायका व्यक्तिहरु रहेको खुलेको छ।

यसैगरी, मुनाले बबीसिंहलाई सुगर ड्याडी वेवसाईटमा भेटेको चर्चा पनि चलिरहेको छ। बबीसिंह कुनै समय सुगर ड्याडी वेवसाइटमा सकृय रहेको भेटिएकाले पनि यो चर्चाले प्राथमिक्ता पाएको हो। विगतमा उनले सुगर ड्याडी वेवसाइट चलाएको हुनसक्ने प्रहरीको पनि अनुमान छ। तर, मुनाले उक्त वेवसाइट चलाएको वा बबीलाई उक्त वेवसाइटमा भेटेको कतैबाट पनि पुष्टी भएको छैन।

टेक्सासको एउटा अँग्रेजी सञ्चारमाध्यमले ‘मुना र बबीसिंहको भेट सुगर ड्याडी वेवसाइटमा सन् २०१२ मा भएको’ लेखेको थियो। तर, उमेरको हिसाव गर्दा त्यस वेला मुना ९ वर्षकी मात्रै रहेको र उनी नेपालमै भएको पुष्टि हुन्छ। त्यसैले हालसम्मको अनुशन्धानले बबीसिंह र मुनाबीच विगतमा कुनै सम्बन्ध भएको पुष्टी भएको छैन।

बबीलाई कतिपयले उनका ‘अमेरिकन पूर्वप्रेमी’ का रुपमा पनि आशंका गरेका थिए। तर, मुनाका पूर्व प्रेमी भनिएका ब्यक्ति २५ बर्ष उमेर समुहका गोरा युवा भएको खुलेको छ। मुनाको जन्मदिनको आसपासमा गत जनवरीमा ती युवासँग भेटघाट भएको थियो। त्यसपछि उनीहरु प्रेम सम्बन्धमा रहेका थिए। पछिल्लो समय भने उनीहरुको सम्बन्ध राम्रो नभएको पारिवारिक श्रोतबाट खुलेको छ।

अपार्टमेन्टमा एक्लै बस्ने गरेकी मुनालाई गत वर्षदेखि एकजना व्यक्तिले पछ्याईरहेका थिए। यो कुरा उनले आमालाई पनि बताएकी थिईन। तर ती व्यक्ति बबीसिंह भए/नभएको पनि खुलेको छैन। अपरिचित व्यक्ति पछि लागेपछि मुनाले अगाडिको ढोका बाहिर क्यामेरा जडान गरेकी थिइन्।

हत्या भएको रातको भिडियो फुटेजमा पाण्डेले जुत्ताको बट्टा, सपिङ झोला, कालो ज्याकेट र कालो पर्ससहितका सामान बोकेको देखिन्छ। पेस्तोल बोकेर पुगेका बबीसिंहले मुनालाई आफ्नो अपार्टमेन्टको ढोका खोल्न बारम्बार भनेका थिए। पाण्डेले ‘ह्वाट आर यू गोइङ टु डु (के गर्न लागेको) ?’ भन्दै सोधेकी थिइन्। त्यसपछि बबीसिंहले मुनालाई ८ बजेर ४१ मिनेटमा कोठाभित्र धेकेलेर ढोका बन्द गरेको देखिएको छ।

९ बजेर ४८ मिनेटमा उनी पहिला मुनाले बोकेको कालो ब्यागसहित वाहिर निस्किएका छन्। हालसम्मको अनुशन्धानले बबीसिंहले मुनाको हत्या लुटपाटका लागि गरेको खुलेको छ। मुनालाई कम्मरभन्दा माथिको भागमा ३ वटा गोली लागेको पाईएको छ। उनी कोठामा रगत कटकटिएको र गन्हाई सकेको अवस्थामा फेला परेकी थिईन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट