श्रीमती ममताको हत्या प्रकरणमा नरेशले अदालतमा के भने ?, यस्तो छ बयान

काठमाण्डौं– अमेरिकाको भर्जिनिया स्थित यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा रेजिस्टर्ड नर्सका रूपमा कार्यरत नेपाली नर्स २८ वर्षीया ममता काफ्लेको उनकै श्रीमान ३७ वर्षीय नरेशदत्त भाट (भट्ट) ले हत्या गरेको लभभग पक्का भएको छ। त्यहाँको प्रहरीले नै ममता जीवित रहेको कुनै संकेत नरहेको बताएको छ। तर, ममताको हत्या कसरी र किन भयो भन्ने विषयमा प्रहरी बोलेको छैन।

यता, ममताको शव पनि हालसम्म फेला परेको छैन। त्यसैले प्रहरीको उजुरीमा नरेशले नै हत्या गरेको उल्लेख गरिए पनि उनीविरुद्ध औपचारिक रुपमा भने शव लुकाएको अभियोग मात्र लगाइएको छ। उनीविरुद्ध शव लुकाएको सम्बन्धमा छैठौं श्रेणीको अपराधको अभियोग लगाइएको हो।

उनीमाथि लागेको यो अभियोगमा कम्तीमा १ बर्षदेखि ५ बर्षसम्म जेल सजाय हुनसक्ने प्रावधान रहेको छ। नरेशमाथि थप अभियोगहरु लाग्ने सम्भावना पनि रहेको अभियोजकले बताएका छन्। अभियोजकले नरेशले ३ भदौ (१९ अगस्त) मा आफ्नो टेस्ला (कार) बेचेको, आफनो र छोरीका सामान तथा पासपोर्टसहित सुटकेस प्याक गरेको र श्रीमती बेपत्ता भएपछि आफ्नो घर बेच्न खोजेको विवरणहरु अदालतमा पेश गरेका छन्। उनले भाग्ने प्रयास गरिरहेको अधिकारीहरुको दावी छ।

प्रहरी र अनुशन्धानकर्ताहरुले जम्मा गरेका प्रमाणहरु प्रस्तुत गर्दै अभियोजकले घरमा रगतका टाटा फेला पारेको बताएका छन्। तर, त्यो ममताको भए/नभएको पुष्टी भएको छैन। नरेशले १५ साउन (३० जुलाई) मा तीनवटा चक्कु र सरसफाइका सामग्री फरक–फरक स्थानबाट खरिद गरेको समेत खुलेको छ।

ती मध्ये २ वटा चक्कु फेला परेका छैनन्। सरसफाईका सामाग्रीहरु अपराध स्थल सफा गर्न प्रयोग गरेको हुनसक्ने अधिकारीहरूको आशंका छ। अनुसन्धानकर्ताहरूले भट्टको घर अस्तव्यस्त अवस्थामा फेला पारेको पनि बताएका छन। यस वाहेक नरेशले ममताको बारेमा धेरै विरोधाभाष वयान दिएको अभियोजकको भनाई छ। अभियोजकहरुका अनुशार श्रीमती बेपत्ता हुँदा उनी बेरोजगार थिए।

अदालती कागजातमा १५ साउन (३० जुलाई २०२४) वा त्यसको आसपासमा नरेशले ममताको हत्या गरेको र घटना सिटी अफ मनासस पार्क हिथर कोर्टमा रहेको उनकै निवासमा भएको उल्लेख छ। अनुसन्धानको क्रममा उनको मृत्युसँग मिल्दोजुल्दो डिजिटल र फोरेन्सिक प्रमाणहरूको पर्याप्त मात्रा बरामद भएको रिपोर्टमा जनाइएको छ। त्यस्तै शव घरभित्रै रहेको र घरबाट बाहिर घिसारेर निकालिएको प्रमाण भेटिएको पनि कागजातमा उल्लेख छ।

नरेशले पुलिसलाई दिएको टाइमलाइन पूर्ण रूपमा गलत भएको अभियोजकहरूले बताएका छन्। नरेशले मिडिया र अधिकारीहरूलाई आफूले अन्तिम पटक ममतालाई १६ साउन (३१ जुलाई) मा देखेको बताए पनि अदालतको कागजातले ममताको मृत्यु त्यसको अघिल्लो दिन १५ साउन (३० जुलाई) मै भएको हुनसक्ने देखाएको छ।

नरेशले आफ्नो बयान पटक–पटक फेरेको अभियोजकहरुको भनाई छ। ममता बेपत्ता हुनु अघि नै उनको फोन नष्ट गरिएको खुलेको छ। फोनमा १७ साउन (१ अगस्त) सम्म म्यासेज र कलहरु गएको छ। त्यसपछि फोन अफ भएको अभियोजकहरुको भनाई छ। अनुसन्धानकर्ताका अनुशार उक्त फोन अन्तिम पटक लाउडन काउन्टीको टावरसँग जोडिएको थियो। सोही समयमा नरेशले आफु लाउडन काउन्टीको एउटा क्याफेमा भएको बताएका छन्।

नरेशले अहिलेसम्म हत्या र शव वेपत्ता पारेको आरोप स्वीकार गरेका छैनन्। शुक्रबार अदालती सुनुवाईमा उपस्थित गराउँदा उनले बोलेको एउटै मात्र वाक्य हो–‘म अंग्रेजीमा धाराप्रवाह छैन।’ यस वाहेक उनले एक शब्द पनि बोलेका छैनन।

उनका वकिलले भने नरेशको अपराध प्रमाणित गर्न पर्याप्त प्रमाण नभएको तर्क गरेका छन्। उनले न्यायाधीशसमक्ष नरेशको हिंसाको इतिहास नभएको बताउँदै मुद्दालाई ‘मिडिया उन्माद’ भनेका छन्। उनले नरेश भट्टलाई रिहा गर्न आग्रह गरे। तर, दुवै पक्षको कुरा सुनेपछि न्यायाधीशले नरेशलाई विना धरौटी थुनामा राख्न आदेश दिए।

धरौटीमा रिहा गर्ने/नगर्ने फैसला गर्न भट्टलाई आज (सोमबार) विहान पनि अदालतमा पेश गरिएको थियो। अदालतले उनलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेको छ। न्यायाधीशले नरेश भाग्न सक्ने जोखिममा रहेको र समुदायका लागि खतरा भएको विश्वास गर्दै धरौटीमा रिहा गर्न अस्वीकार गरेका हुन्। नरेशका वकिलले ममता फेला नपरेकाले यस मुद्दामा धरौटीविना राख्नुपर्ने कुनै सम्भावित कारण नभएको भन्दै तर्क गर्न खोजेपनि अदालतले धरौटीमा रिहा गर्न अस्वीकार गरेको हो।

सोमबार विहान साढे ८ बजे प्रिन्स विलियम जुभेनाइल एण्ड डोमेस्टिक रिलेशन डिस्ट्रिक्ट कोर्टको कोर्टरुम ६ मा उक्त सुनुवाई भएको थियो।

यस अघि के– के भयो ?
नरेशसँग एकाघरमा वस्दै आएकी ममता मनाससबाट १६ साउन (३१ जुलाई) मा सम्पर्कविहिन भईन। उनका साथी तथा सहकर्मीहरुले खोजविन गरिदिन आग्रह गरेपछि प्रहरीले घट्नाको बारेमा जानकारी पायो।

त्यसपछि ममताको बारेमा बुझ्न १८ साउन (२ अगस्ट) मा प्रहरी अधिकारीहरू उनको घरमा गएका थिए। त्यसवेला नरेशले प्रहरीसँग कुरा गर्न खासै रुची देखाएनन्। ममता हराएको विषयमा रिपोर्ट गर्न पनि चाहेनन्। २१ साउन (५ अगस्ट) मा मात्रै नरेशले प्रहरीलाई सम्पर्क गरी ममता हराएको जानकारी दिए।

त्यसपछि प्रहरीले ममताको खोजीलाई तिव्र पारेको थियो। लगत्तै प्रहरीले ६ साउन (२१ अगस्त) मा सर्च वारेन्ट र पक्राउ पुर्जी लियो। त्यसै दिन बेलुकादेखि घरलाई घेरावन्दी गरी १२ घण्टासम्म खानतलासी गरेको थियो। ७ साउन (२२ अगष्ट) को विहान सरकारी वकिलको कार्यालयसँगको परामर्शपछि नरेशलाई हतकडीसहित प्रहरी कार्यालय लगिएको थियो। सोही दिन विहान ८ वजेर ३१ मिनेटमा प्रिन्स विलियम काउन्टी जुभेनाइल एन्ड डोमेस्टिक रिलेसन कोर्टमा उनलाई पेश गरिएको थियो।

यो घटनाको सुनुवाइ अब ८ कात्तिकमा (२४ अक्टोबर) मा हुने बताइएको छ।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट