बराह सहकारीका सञ्चालकको बदमासीले संकलकले सप्तकोशीमा ज्यान फाले

इटहरी– सुनसरीको धरान उपमहानगरपालिका–८ स्थित बराह बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक तथा बराह ग्रुप अफ कम्पनीका अध्यक्षको बदमासीका कारण एक जना कलेक्टर (वचत संकलक) ले आत्महत्या गर्न सप्तकोशी नदीमा हामफालेर बेपत्ता भएको खुलेको छ।

गत ४ भदौमा चतरास्थित नहरको इन्टेक मास्तिरबाट धरान–१६ मा डेरा गरेर वस्ने ५२ वर्षीय नेत्रप्रसाद पहाडी सप्तकोशी नदीमा हामफालेर बेपत्ता भएका थिए। उनको परिचय पछि मात्रै खुलेको थियो। पारिवारीक स्रोतका अनुसार बराह बचत तथा ऋण सहकारी संस्थाको वदमासीका कारण नेत्र आत्महत्या गर्ने सोचमा पुगेका हुन।

श्रीमती मेनुकादेवी धमलाका अनुसार नेत्र पेय पदार्थ (रक्सी) को मार्केटिङ गर्थे। उनी करिव ०७२ सालदेखि सहकारीमा कलेक्टरको काम गर्थिन। मासिक ४० देखि ५० लाख बचत उठ्थ्यो। यसैबीचमा उनी विरामी परिन। त्यसपछि घरदेखि टाढा रहेका वचतकर्ताको रकम नेत्रले ल्याईदिन्थे।

मेनुकालाई रोगले च्याप्दै गएपछि अन्य वचतकर्ताकोमा पनि नेत्र नै जान थाले। यसैबीचमा बराह सहकारी डुब्दै गरेको हल्ला चल्यो। विभिन्न मिडियाले समाचार पनि लेखे। त्यसपछि उनीहरुको मनमा पनि चिसो पस्यो। श्रीमान–श्रीमतीको सल्लाह अनुसार १ महिना जती बचत उठाउने काम वन्द गरे।

तर, बराह ग्रुप अफ कम्पनीका अध्यक्ष (बराह सहकारी बराह ग्रुप अफ कम्पनी अन्तर्गत छ।) शिव लामिछानेले उनीहरुलाई सुविस्ता दिएनन्। बोलाएपछि भेट्न गए। आकाश जमिन देखाएर कन्भिन्स गरेपछि उनीहरुले बचत संकलन फेरी सुरु गरे। तर, त्यसपछिको बचत संकलन उनीहरुका लागि सहज भएन।

बचतकर्ताले बचत दिने भन्दा पनि बचत फिर्ता माग्न थाले। मेनुका र नेत्रले सहकारीका अध्यक्ष मानबहादुर दियाली (विश्वकर्मा), गङ्गा कालिकोटे र बराह ग्रुप अफ कम्पनीका अध्यक्ष लामिछानेसँग यो विषयमा कुरा राखे। उनीहरुले रकम फिर्ता दिने आश्वासन त दिए तर फिर्ता गरेनन।

त्यसपछि बचतकर्ताले नेत्रको घर घेर्न थाले। फोन गरेर धम्क्याउने, बाटोमा घेर्ने, वेईजत गर्ने लगायतका काम गर्न थालेपछि नेत्र र मेनुकाले सयकडा ३ रुपैयाँ व्याजमा ऋण काढेर बचतकर्ताको पैसा फिर्ता गरे।

उक्त रकमको व्याज मात्रै हाल मासिक ७२ हजार तिर्ने गरेको मेनुका बताउँछिन्। पछिल्लो समय मेनुकाको सानो पेटको आन्द्रामा समस्या आयो। ऋणपान गरेर अप्रेसन भयो। अहिले उनी दिशापिसावका लागि दुवैपटी प्लाष्टिकका ब्याग बोकेर बस्नु परेको छ। एकातर्फ बचतकर्ताको धम्की, अर्कोतर्फ ऋणको ब्याज र श्रीमतीको उपचारका कारण आर्थिक संकट भएर नेत्र विचलित थिए।

घट्ना भएको दिन पनि उनी ब्याज तिर्न भनेर हिडेका थिए। केही समयपछि श्रीमतीलाई फोन गरेर ५ बजे फर्किन्छु भने। त्यसको आधा घण्टा वित्न नपाउँदै प्रहरीले फोन गरेर ‘तपाईँको श्रीमान् तँ कोशीमा हाम्फाल्नु भयो’ भन्दै सूचना दिएको मेनुका बताउँछिन्।

श्रीमान वेपत्ता भएपछि विरामी भएर ओछ्यान परेकी मेनुका अहिले विछिप्त छिन। २ छोरा ओईलाएका छन्। जेठा छोरा निर्मलले बराहका बचतकर्ताको प्रेसर थेग्न नसकेरै बुवाले त्यस्तो कदम उठाएको बताए। उनी भन्छन्– ‘आमाको २० भदौमा अर्को अप्रेसनका लागि डाक्टरले समय दिएका छन्। तर, नत रकमको ब्यवस्था छ नत बुवाको अत्तापत्तो।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट