अमेरिकामा श्रीमती ममताको हत्या गरेको आरोपमा पक्राउ परेका नरेश भट्टको यस्तो छ विगत

राजविराज– अमेरिकाको भर्जिनिया राज्यस्थित मानसस पार्कमा २८ वर्षीया नेपाली नर्स ममता काफ्ले वेपत्ता देखि हत्यासम्मका प्रकरणमा अहिले उनका पति नरेश भट्ट चर्चामा छन्। भट्ट नेपाली नै भएपनि उनको बारेमा थोरै मात्र जानकारी वाहिर आएका छन्।

कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–२ घर भएका ३७ वर्षीय नरेश ८ वर्ष अघिसम्म नेपालमै थिए। नेपालमा छँदा छिमेकी जिल्ला कैलाली सदरमुकाम धनगढीमा उनी चिकित्सा प्रतिनिधि (एमआर) का रुपमा कार्यरत थिए।

जानकारी अनुसार धनगढीकै सेती प्रादेशिक अस्पताल लाइनमा रहेका दुई मेडिकलमा उनको लगानी पनि थियो। उनको व्यापार व्यवसाय राम्रै चलेको थियो। तर, उनमा सुरु देखि नै अमेरिकी आर्मी बन्ने उत्कट इच्छा थियो। त्यसैले १४ साउन ०७३ मा उनी अमेरिकाका लागि उडेका हुन।

अमेरिका पुगेपछि केही समय उनले एउटा कम्पनीमा काम गरे। तर, यूएस आर्मीमा भर्ना हुन प्रयास भने उनले जारी राखे। नभन्दै अमेरिका पुगेको एक वर्षपछि असार ०७४ मा उनी यूएस आर्मीमा भर्ती भए। त्यसपछि उनी बेलाबेला नेपाल आइराख्थे। अहिले उनी यूएस आर्मीको आईटी विभागमा कार्यरत थिए।

अमेरिका बसाइकै क्रममा ५ वर्षअघि काभ्रेको पनौती –६, नमोबुद्धकी ममतासँग उनको सामाजिक सञ्जालमार्फत चिनजान भएको थियो। सामाजिक सञ्जालमै उनीहरु प्रेममा परे। २५ मंसिर ०७७ मा दुवैको विवाह भयो। विवाहको ८ महिनापछि १० साउन ०७८ मा ममता पनि अमेरिका गईन।

ममता भर्जिनिया युनिभर्सिटीको प्रिन्स विलियम मेडिकल सेन्टरमा रेजिस्टर्ड नर्सका रूपमा कार्यरत थिइन्। झण्डै एक वर्षअघि (५ भदौ ०८०) उनले छोरी (नीमा) जन्माईन। त्यस यता उनीहरुको सम्वन्ध खासै राम्रो देखिएन। ममताले सामाजिक सञ्चालमा लेखेका कुरा र माईतीको भनाई अनुसार उनलाई यातना दिने काम गरियो।

पतिको यातना सहन नसकेर ममता एक पटक छोरी लिएर छुट्टै वसेको पनि खुलेको छ। फेरी दुवैको समझदारीमा एकै ठाउँमा वस्दै आएका वेला अचानक १६ साउनदेखि (जुलाई ३१) ममता सम्पर्कविहिन भईन।

ममताका साथी, सहकर्मीहरुले उनको खोजी सुरु गरे। तर, नरेशले ममता हराएको विषयमा वास्तै गरेनन। प्रहरी तथा ममताको खोजीमा रहेकाहरुले सोधखोज गर्दा उनले ममता टेक्सास वा न्यूयोर्कमा परिवार भेट्न गएको दाबी गर्दै आएका थिए। उनले श्रीमती हराएको कुरा अस्वीकार गरे।

तर, पछि प्रहरीले ममताको परिवार त्यहाँ नभएको र परिवारका सदस्य सवै नेपालमै रहेको प्रमाण जुटायो। त्यसपछि २२ साउन (६ अगस्ट) मा मात्रै उनले श्रीमती हराएको विषयमा रिपोर्ट गर्न प्रहरीसँग सम्पर्क गरे।

प्रहरीको लामो अनुशन्धानले आखिर ममताको हत्या भएको र श्रीमान् नरेशले नै गरेको पुष्टि गरेको छ। नरेश पक्राउ परेका छन्। बिहीबार भर्जिनिया प्रहरीले पक्राउ गरेको नरेशलाई शुक्रबार अदालत उपस्थित गराएको थियो। उनीमाथि ममताको हत्या गरी शव लुकाएको अभियोग लगाइएको छ।

प्रहरीको दावी अनुसार ममताको हत्यासँग जोडिएका पर्याप्त डिजिटल र फोरेन्सिक प्रमाण बरामद भएका छन्। प्रहरीले अदालतमा पेस गरेको कागजपत्रमा ममताको हत्या १५ साउन (३० जुलाई) मा घरभित्रै भएको र शवलाई घिसारेर घरबाट बाहिर निकालिएको प्रमाण भेटिएको उल्लेख छ।

तर, नरेशले ममताको हत्यापछि शव कहाँ लुकाएका छन् भन्ने अझै पत्ता लाग्न सकेको छैन। यता, भट्टले १५ साउन (३० जुलाई) मै स्थानीय वालमार्टबाट ३ वटा चक्कु र त्यसको भोलीपल्ट सरसफाइका सामान किनेर ल्याएका थिए।

नरेशले थुप्रै प्रमाण नष्ट गर्ने प्रयास गरेको पनि बताइएको छ। ममताको हत्यापछि उनी घर बेचेर भाग्ने योजनामा समेत रहेको खुलेको छ। तत्काल घर बिक्री गर्न दुई जनासँग कुरा पनि अघि बढाएको प्रहरीले पत्ता लगाएको छ। यही योजना अनुसार उनले ३ भदौ (१९ अगस्त) मा टेस्ला कार वेचेका थिए।

उनले छोरीलाई नेपाल फर्काउनका लागि कागजात पनि तयार पारिसकेका भेटिएको छ। उनले ममतासँगको सम्वन्धमा दुरी बढ्नुको कारण र हत्याका विषयमा कुनै पनि कुरा खोलेका छैनन्। प्रहरीले पनि यस विषयमा थप जानकारी वाहिर ल्याएको छैन।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट