महिला डाक्टरको बलात्कारपछि हत्या प्रकरणः पूर्वप्राचार्य र ४ डाक्टरसहित ७ जनाको पोलिग्राफ परिक्षण

काठमाण्डौं– भारतको कोलकातास्थित आरजी कर मेडिकल कलेजमा ३१ वर्षीया महिला डाक्टर मौमिता देवनाथको बलात्कारपछि हत्या भएको प्रकरणको अनुशन्धानको दायरा साँघुरो हुँदै गएको छ। शनिवारसम्म आईपुग्दा अनुशन्धानको क्षेत्र ७ जनामा केन्द्रित भएको छ।

भारतीय प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले शनिबार कलेजका पूर्वप्राचार्य सन्दीप घोषस, मुख्य अभियुक्त सञ्जय रोय, ४ डाक्टर र १ स्वयंसेवकसहित ७ जनाको पोलिग्राफ परीक्षण गरिरहेको छ। पोलिग्राफ परीक्षणका लागि नयाँ दिल्लीस्थित केन्द्रीय विधि विज्ञान प्रयोगशालाबाट विज्ञहरूको टोली कोलकाता पुगेको छ।

सीबीआईले सन्दीप घोष, आरोपित सञ्जय रोय, चार चिकित्सक र एक स्वयंसेवकको पोलिग्राफ परीक्षण गर्न अनुमति मागेको थियो। उक्त निवेदनलाई अदालतले स्विकार गर्दै पोलिग्राफ परिक्षणको अनुमती दिएको छ।

आरोपित सञ्जय रोयको पोलिग्राफ परीक्षण हिरासतमै भइरहेको छ। अगस्ट २३ मा सियालदह अदालतले सञ्जयलाई १४ दिनको लागि न्यायिक हिरासतमा पठाएको थियो। यस सुनुवाइका क्रममा सञ्जय पोलिग्राफ टेस्टका लागि राजी भएका थिए। मजिस्ट्रेटले सञ्जयलाई पोलिग्राफ टेस्टका लागि किन राजी भएको भनेर सोधेका थिए। सञ्जयले ‘पोलिग्राफ टेस्टले म निर्दोष छु भनेर प्रमाणित गर्छ। मलाई फँसाइँदैछ’ भन्दै जवाफ दिएका थिए।

बाँकी ६ जनाको पोलिग्राफ परीक्षण भने सीबीआई कार्यालयमा भइरहेको छ। महिला डाक्टरको बलात्कार र हत्या प्रकरणमा आरजी कर मेडिकल कलेजका पूर्वप्राचार्य सन्दीप घोषको भूमिका शंकास्पद देखिएको छ।

सर्वोच्च अदालतले पनि सुनुवाइका क्रममा सन्दीप घोषको भूमिकामा गम्भीर प्रश्न उठाएको थियो। यही कारण घोष सीबीआई अनुसन्धानको दायरामा तानिएका हुन्। घोषलाई सीबीआईले एक साताभन्दा बढी समयदेखि लगातार सोधपुछ गरिरहेको छ।

मिडिया रिपोर्टका अनुसार सोधपुछका क्रममा सन्दीप घोषको बयानमा विरोधाभास देखिएको छ। उल्लेखनीय के छ भने सन्दीप घोषबाहेक पोलिग्राफ परीक्षण गर्ने चारजना चिकित्सकले घटना भएको राती ती महिला डाक्टरसँग डिनर गरेको पाईएको छ।

महिला डाक्टरको अघिल्लो शुक्रबार (९ अगस्त) को राति बलात्कारपछि हत्या भएको थियो। उनको शव आरजी कर मेडिकल कलेजको सेमिनार हलमा अर्धनग्न र चोटपटक लागेको अवस्थामा विहान फेला परेको थियो।

अस्पताल स्रोतका अनुसार ती महिला डाक्टर आफ्नो ड्यूटी सकेर आराम गर्न गएकी थिइन्। त्यसपछि देशभरका चिकित्सकहरुले विरोध प्रदर्शन गरेका छन्। कोलकाताका चिकित्सकहरु लगातार १६ औं दिन पनि हडतालमा छन्।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट