सामाजिक सञ्चालबाट प्रेममा परेकी ममताको विवाहको ४ वर्ष नपुग्दै परदेशमा अवसानः प्रेमी/पति नै हत्यारा

काठमाण्डौं– अमेरिकाको भर्जिनिया राज्यस्थित मानसस पार्कमा हत्या गरिएकी नेपाली नर्स २८ वर्षीया ममता काफ्ले र नरेश भट्टबीच सामाजिक सञ्जालमा चिनजान, प्रेम र त्यसपछि विवाह भएको खुलेको छ।

काभ्रेको पनौती नगरपालिका– ६, नमोबुद्धकी ममता र अमेरिका वस्दै आएका कन्चनपुरका नरेश भट्टबीच २५ मंसिर ०७७ मा पनौतीबाट विवाह भएको थियो। सामाजिक सञ्जालममै चिनजान र त्यसपछि प्रेममा परेका ममता र नरेशले विवाहको कुरा गरेपछि उनीहरुको खुसीका लागि आमाबुबाले केटाको घरपरिवारका बारेमा राम्रोसँग बुझ्न नपाउँदै विवाह गरिदिएका थिए।

विवाहपछि नरेशले ममतालाई पनि अमेरिका लगे। ममता अमेरिका गएको १० साउनमा ३ वर्ष पूरा भई ४ वर्ष लागेको छ। ममता र नरेशको सम्बन्धबारे शंका गर्नुपर्ने कुनै कारण थिएन। गतवर्ष ५ भदौमा ममता आमा बनिन। ममताले छोरीलाई जन्म दिएपछि स्याहारसुसार गर्न ममताकी आमा गीता काफ्ले अमेरिका जाने तयारी थियो।

तर, सुत्केरी स्याहार्नका लागि भन्दै सासू पार्वती भट्ट गएपछि ममताकी आमा अमेरिका जाने कुरा त्यतिकै रह्यो। सुत्केरी स्याहार्न भनेर गएकी सासूले ममतालाई राम्रो व्यवहार नगरेको खुलेको छ। उनी अमेरिका गएदेखि नै कमल र ममताको बीचमा सम्वन्ध विग्रिएको ममताका बुबा कमलले बताए।

यद्यपी, ममताले आफुलाई परेको पीडा कहिलै वुबाआमालाई सुनाईनन्। अरू मानिसहरूबाट उनीहरुको बीचमा समस्या भएको कमल र गीताले सुनेका थिए। नरेश र उनकी आमाले महिनावारीका बेला छाउपडी प्रथाका नाममा ममतालाई दुख दिने, सुत्केरी बुहारीलाई भोकै काममा पठाउने, खानपान पनि राम्रो नदिने र राम्रो स्याहार नगर्ने गरेको खवर उनीहरुलाई पनि थियो।

यतिमात्रै होईन, सासू नेपाल फर्किएपछि पनि ममता र नरेशको सम्बन्धमा सुधार आएन। यसैबीचमा ममता वेपत्ता भएको खबर आयो। उनले अन्तिम पटक १५ साउन (३० जुलाई) मा आमाबुबासँग कुरा गरेकी थिईन।

घरकी एक्ली छोरी ममता वेपत्ता भएको खवर सुनेपछि कमल र गीताले पटक–पटक ज्वाइँलाई फोन गरेर खबर बुझिरहे। नरेशले भने ‘भेटिन्छ होला नि’ मात्रै भनिरहे। तर, अव भने छोरीको आवाज सुन्ने र अनुहार देख्ने उनीहरुको आशा मरिसकेको छ।

पति नरेशले नै ममताको हत्या गरेर शव वेपत्ता बनाएको खुलेपछि उनीहरु भावविह्वल भएका छन्। भट्टले १५ साउन (३० जुलाई) मै ममताको घरकै मुख्य बेडरुममा हत्या गरी शव लुकाएको त्यहाँको प्रहरीले अदालतमा बुझाएको कागजातमा उल्लेख छ।

शव लुकाएको आरोपमा मनासस प्रहरीले नरेशलाई बिहीबार पक्राउ गरी शुक्रबार बिहान ८ वजेर ३१ मिनेटमा प्रिन्स विलियम काउन्टी जुभेनाइल एन्ड डोमेस्टिक रिलेसन कोर्टमा पेश गरेको थियो। यो घटनाको सुनुवाइ अब ८ कात्तिकमा (२४ अक्टोबर) मा हुने बताइएको छ। काफ्लेकी एक वर्षीया छोरीलाई हेरचाह गृह लगिएको छ।

अनुसन्धानका क्रममा ममताको हत्यासँग जोडिएका पर्याप्त डिजिटल र फोरेन्सिक प्रमाण बरामद भएको प्रहरीको दाबी छ। बुधबार पत्रकार सम्मेलन गरेका मनासस पार्क प्रहरी प्रमुख मारियो लुगोले ममताका पति भट्टले अनुसन्धानमा समन्वय नगरेको आरोप लगाएका थिए। त्यसैदिन बेलुकादेखि प्रहरीले भट्टको घरलाई घेराबन्दी गर्दै १२ घण्टा खानतलासी गरेको थियो।

प्रहरीले अदालतमा पेस गरेको कागजपत्रमा ममताको हत्या घरभित्रै भएको र शवलाई घिसारेर घरबाट निकालिएको प्रमाण भेटिएको उल्लेख छ। ममता गत साउन १६ (जुलाई ३१) देखि हराएकी हुन। उनी १८ साउन (२ अगस्ट) मा यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा हाजिर नभएपछि सहकर्मीले अवस्था बुझिदिन प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले ममता सार्वजनिक स्थानमा पछिल्लो पटक १३ साउन (२८ जुलाई) मा यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा देखिएको जनाएको छ। १३ साउन (२८ जुलाई) मै उनले आफ्ना साथीसँग कुरा गरेको र १६ साउन (३१ जुलाई) मा श्रीमतीलाई अन्तिम पटक देखेको भट्टले प्रहरीलाई बयान दिएका थिए।

पढाईमा अब्बल थिइन ममता
भर्जिनियामा रेजिस्टर्ड नर्सका रूपमा कार्यरत ममता सानै उमेरदेखि पढाइमा तेज थिइन। पनौतीको नवरत्न इंग्लिस सेकेन्डेरी स्कुलबाट एसईई गरेपछि बनेपाको बेलर इन्टरनेसनल एकेडेमीबाट प्लस टु उत्तीर्ण गरिन।

त्यसपछि नर्सिङ अध्ययन गर्न भारतको बैंग्लोर गएकी थिइन। बैंग्लोरमा ५ वर्ष पढाइ सकेर नेपाल फर्किइन। उनले बैंग्लोरमा नर्सिङमा कलेज टप गरेको बुबा कमलले बताए।

अवकासप्राप्त अमेरिकी सेनिक हुन नरेश
ममताका पति नरेश अमेरिकी सेनाका अवकाश प्राप्त अधिकारी हुन। उनी दुई पटक अफगानिस्तान युद्धमा सहभागी भइसकेका थिए। अमेरिकामा उनको राम्रै हैसियत थियो।

सेवा निवृत अपाङ्ग सेनाको रुपमा उनको मासिक भत्ता मात्रै लगभग ५ लाख (नेपाली) आउँथ्यो। यसवाहेक उनले ह्वाइट हाउससँग सम्बन्धित कामसमेत थालेका थिए। उनको उच्च आचरण भएको तथा विश्वभर कहींपनि कुनै पनि अपराधिक वा विवादित काममा संलग्न नभएको अब्बल ब्यक्तिले मात्रै पाउने आइटीसँग सम्बन्धित जागिर थियो।

उनले हालसालै करोडौं रुपैयाँको घर किनेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट