अमेरिकामा २४ दिनदेखि वेपत्ता नेपाली नर्सको पतिले नै हत्या गरेको खुलासा, लाश वेपत्ता पारेको मुद्दा दर्ता

राजविराज– अमेरिकाको भर्जिनिया राज्यस्थित मनासस पार्कबाट २४ दिनदेखि बेपत्ता भएकी २८ वर्षीया नेपाली नर्स ममता काफ्लेको हत्या भएको खुलासा भएको छ। तर, यसको आधिकारिक रुपमा प्रहरीले पुष्टि गरिसकेको छैन।

ममताको हत्या आरोपमा उनकै पति नरेश भट्ट पक्राउ परेका छन्। अमेरिकी प्रहरीले घरमा खानतलासी र क्राइम सिनका रुपमा घेराबन्दी नगर्दासम्म नरेश ममताको खोजीका लागि गरिएको धर्नामा सहभागी र बक्ता बन्दै आएका थिए।

तर, प्रहरीले नरेशलाई विहिबार विहान पक्राउ गरी घरबाटै हतकडी लगाएर प्रहरी कार्यालय लगेको छ। अमेरिकी सेनाका सेवानिवृत्त उनीमाथि श्रीमतीको लाश गायव बनाएको अभियोगमा प्रारम्भिक मुद्दा चलेको छ। घरको खानतलासी गर्दा भेटिएका प्रमाण र विधि विज्ञान प्रयोगशालाको रिपोर्टका आधारमा ममताको हत्या घरमै भएको प्रहरीको निष्कर्ष छ।

थप प्रमाणका आधारमा नरेशमाथि ब्यक्ति हत्या, झूठो बिबरण दिएको, अनुसन्धानलाई प्रभावित पारेको, नाबालिका (छोरी)लाई क्राइम सिनमा राखेको लगायत अनेक शीर्षकमा मुद्धा चल्न सक्ने अमेरिकामा रहेका पत्रकार नारायण पौडेल बताउँछन्। भट्टविरुद्ध प्रहरीले आजीवन कारावासको मागदावीसमेत गर्न सक्ने उनी बताउँछन्। पौडेल भन्छन्– ‘भर्जिनिया राज्यमा मृत्युदण्डको सजाय ३ बर्ष अघिमात्र हटेकाले उनी मृत्युदण्डको सम्भावनाबाट वचेका छन्।’

सार्वजनिक भएका सूचनाका आधारमा नरेशले अमेरिकामा राम्रै हैसियत बनाएका थिए। सेवा निवृत अपाङ्ग सेनाको रुपमा उनको मासिक भत्ता मात्रै लगभग ५ लाख (नेपाली) आउनले गरेको थियो। यस वाहेक उनले ह्वाइट हाउससँग सम्बन्धित कामसमेत थालेका थिए। उनको उच्च आचरण भएको तथा विश्वभर कहींपनि कुनै पनि अपराधिक वा विवादित काममा संलग्न नभएको अब्बल ब्यक्तिले मात्रै पाउने आइटीसँग सम्बन्धित जागिर थियो।

उनले हालसालै करोडौं रुपैयाँको घर किनेका थिए। ‘ममता पनि रजिस्टर्ड नर्स भएकाले अवसर राम्रै थियो। बाहिरी दुनियाँबाट हेर्दा सबथोक थियो। तर सबै गुम्ने देखिन्छ।’ पौडेलले भनेका छन्। ममता बेपत्ता भएको सुँइको पाएसँगै उनका सहकर्मी र नेपाली समुदायले खोजीका लागि धर्नासहितका दबाव कार्यक्रम गर्दै आएपछि नरेश पक्राउ परेका हुन।

समुदायले चौतर्फी दवावका बीचमा पनि उनी जोगिँदै आएका थिए। तर, उनीप्रति साथी, सहकर्मी र समुदायले सुरुदेखि नै प्रश्न उठाउँदै आएका थिए। ‘ममताले धेरै पहिलेदेखि न्यायका लागि प्रयास गरेको बताइएको छ। उनले केही नेपाली मूलका वकिलसँग पनि कानूनी उपचारका लागि सोधिखोजी गरेकी थिइन भन्ने चर्चा सुनिएको छ’ पौडेल भन्छन्–‘सम्बन्धित ब्यक्तिहरुले पहिला शुल्क दाखिला अनिमात्र परामर्श सेवा भनिदिँदा वा बिषयलाई हल्काफुल्का लिँदा ममताले न्यायिक उपचारको साटो अपराधको शिकार हुनुपरेको गुनासो पनि छ।’

नेपाली समुदायले ममताको खोजीका लागि अभूतपूर्व प्रयास गरेका थिए। पूरै समुदाय रातदिन नभनि खोजीका लागि दबाब बढाउन जुटेको थियो। ममताका सहकर्मीको सक्रियता उल्लेखनीय छ। यो कुरा मनासस पार्क प्रहरीकले समेत अनुभव गरेको छ।

काभ्रेको पनौती स्थायी घर भएकी ममता सन २०२१ देखि अमेरिकामा कार्यरत थिईन। यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा उनको जागिर थियो। उनी गत १६ साउन (जुलाई ३१) देखि वेपत्ता भएकी हुन। उनी कार्यरत अस्पतालमा २ अगस्तमा हाजिर नभएपछि उनको खोजी सुरु भएको थियो।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट