पूर्वडीआईजी जोशीको घरमा फेला परेका ४ वटा सर्भरबाट रवि लामिछानेको २ करोडको पोल खुल्यो

काठमाण्डौं– पूर्वगृहमन्त्री एवम् रास्वपाका सभापति रवि लामिछानेले बुटवलको सुप्रिम सहकारीबाट पनि २ करोड रुपैयाँ ऋण लिएर अपचलन गरेको खुलासा भएको छ। यसअघि पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १ करोड रुपैयाँ अपचलनको आरोप लगेका लामिछानेमाथि थप २ करोडको प्रमाण फेला परेको हो।

सहकारी ठगी प्रकरणमा जोडिएपछि फरार भएका गितेन्द्रबाबु (जीबी) राईको ठगीको जालो पहिल्याउने क्रममा रविको थप कारोबार पत्ता लागेको हो। प्रहरी उच्च स्रोतका अनुसार पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) छविलाल जोशीको घरमा फेला परेका ४ वटा सर्भरबाट यसको खुलासा भएको हो।

जोशीको काठमाण्डौं शंखमुलस्थित घरमा रहेको नेचर हबको कार्यालयमा २४ माघ ०८० को राति छापा मारेर प्रहरीले सहकारीको कारोबारका लागि कम्प्युटरमा जडित ४ वटा सर्भर नियन्त्रणमा लिईएको थियो। सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेर पुर्पक्षका लागि कारागारमा रहेका भविश्वर अर्यालयले प्रहरीलाई ती सर्भरको बारेमा सुचना दिएका थिए।

४ वटा सर्भरको विवरण अनुशन्धान गर्ने क्रममा थप ६ वटा सहकारीको रकम अपचलनको विवरण फेला परेको स्रोतले जनाएको छ। जसमा थप १५ करोड रकम अपचलनको विवरण प्राप्त भएको छ। त्यसै मध्ये सुप्रिम सहकारीबाट सदस्य नै नभएका रविको नाममा नियम विपरित २ करोड निकासा भएको देखिएको स्रोतले जनाएको छ।

रविको नाममा १८ चैत २०७७ मा २ करोडको व्यापार कर्जा स्वीकृत गरीएको थियो। त्यसका लागि रविले ४ लाख सेवा शुल्क कटाएर १ करोड ९६ लाख रुपैयाँ बुझेका थिए। त्यो रकम गोरखा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंकको भौचर मार्फत जम्मा गरिएको थियो।

ऋण भौचर सागर केसीले सदर गरेका थिए भने रकम जम्मा गर्ने रोशनी गुरुङको नाम उल्लेख छ। रविको नाममा २ करोडको कर्जा गएको देखिए पनि प्रहरीले उनलाई प्रतिवादी बनाइएको थिएन। त्यतिबेला उनी उपप्रधानमन्त्री तथा गृहमन्त्री थिए।

यही सर्भर बरामद भएपछि सुप्रिम सहकारीले कुल ८६ करोड १८ लाख २३ हजार ७ सय ५४ रुपैयाँ ठगी गरेको भेटिएको थियो। सर्भरमै भेटिएको तथ्यांकका आधारमा रुपन्देही प्रहरीले १ हजार ८ सय ३१ बचतकर्ता ठगिएको भन्दै २८ जनालाई प्रतिवादी बनाउँदै ३ वैशाख २०८१ मा मुद्दा दायर गरेको थियो।

योसँगै ठगीको बिगो बढेर १ अर्ब ५० करोड ९० लाख ३० हजार ५ सय ३ रुपैयाँ पुगेको जनाईएको छ। चार वटा सर्भरमा बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चितवनको सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, नेपालगञ्जको समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेड, काठमाडौं महाराजगञ्जको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड र पर्साको सानो पाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कारोवार भेटिएको हो।

६ वटा सहकारीको कारोबार विवरण भेटिए पनि सूर्यदर्शन र सुप्रिम सहकारीको मात्रै मुद्दा दर्ता भएकाले अन्य सहकारीको विवरण भने प्रहरीले गोप्य राखेको छ। सहकारीको सर्भर लुकाउन सहयोग गर्ने पूर्वडीआईजी जोशी सहकारी ठगीका मुख्य नाइके जीबीका साझेदार थिए। उनीहरू दुवैको साझेदारीमा ग्यालेक्सी फोरके टेलिभिजन सञ्चालनमा आएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट