ओलीलाई जलहरी प्रकरणमा भ्रष्टाचारी भनेका सांसद दाहाल पार्टीभित्रै भ्रष्टाचारको आरोपमा डामिए

काठमाण्डौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पशुपतिमा सुनको भन्दै पित्तलको जनहरी चढाएर भ्रष्टाचार गरेको आरोप लगाएपछि माओवादी सांसद लेखनाथ दाहाल (राजन) गत वर्ष जेठको दोस्रो साता निकै चर्चामा आए।

प्रतिनिधि सभाको वैठकमै ओलीले सुनको भनेर पशुपतिमा पित्तलको जलहरी चढाएको उनको भनाई थियो। ‘गएको तीन वर्ष सरकारमा जाँदा ७ खर्ब ऋण थियो, १७ खर्ब कसरी पुग्यो? सरकारले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन भन्नुभयो, तर उहाँ सरकारमा बस्दा कति भ्रष्टाचारको काण्ड भए?’ उनले भनेका थिए–‘यति ओम्नी, वाइडबडी, स्वास्थ्य सामग्री खरिदमा भएको २ अर्बको भ्रष्टाचार, त्यतिमात्र होइन, पशुपतिनाथमा सुनको जलहरी लगाउँदा पनि सुन लगाउने भनेर पित्तल लगाइदिएर गरेका भ्रष्टाचारहरूका सयौँ यस्ता काण्ड छन्।’

दाहालको यो भनाईले नेकपा एमाले चिढियो। उनको भनाइ असंसदीय भएको भन्दै रेकर्डबाट हटाउनसमेत एमालेका सांसदले माग गरे। दूधको दूध, पानीको पानी छुट्टयाउनुपर्ने भन्दै विषय नटुंगिँदासम्म सदन चल्न नदिने भन्दै एमालेका सांसदले सदन अवरोध समेत गरे।

सदनमा यसरी भ्रष्टाचार विरोधी बन्न खोजेका तिनै सांसद दाहाल अहिले आफैं भ्रष्टाचारको आरोपमा डामिएका छन्। सिन्धुली–२ बाट निर्वाचितबाट सांसद दाहाल पार्टीभित्रै भ्रष्टाचारको आरोपमा डामिएका हुन। उनले जिल्ला इन्चार्ज हुँदा पार्टी कार्यालयको भवन निर्माण गर्दा आर्थिक अनियमितता गरेको आरोप लागेको छ।

पार्टीका सिन्धुली इन्चार्ज बुद्धिमान माझीको अध्यक्षतामा हालै सम्पन्न भएको जिल्ला समन्वय समितिको बैठकले हालसम्म पनि भवन निर्माणको आयव्यय विवरण नबुझाएको भन्दै मातहतका कमिटीलाई परिपत्र गरेको छ।

पत्रमा तत्कालीन जिल्ला इन्चार्ज एवम् केन्द्रीय सदस्य लेखनाथ दाहाललाई बारम्बार अनुरोध र ताकेता गर्दा पनि भवन निर्माणको आयब्यय पार्टीलाई प्राप्प नभएको उल्लेख छ। ‘खाता सञ्चालक गणेश रत्नको भनाइको आधारमा भवन निर्माणबाट बाँकी रकम करिब ४०–४५ लाख जनसेवा फाउन्डेसनको नाममा जम्मा गरेको बुझिएको छ। हालसम्म भवन निर्माको आय व्याय पार्टी कमिटीलाई प्राप्त भएको छैन’– पत्रमा भनिएको छ।

जनसेवा फाउन्डेसनकी अध्यक्ष दीपा बोहरा दाहाल राजन दाहालकी श्रीमती तथा सुनकोशी गाउँपालिकाकी अध्यक्ष हुन्। जानकारी अनुसार कमलामाई नगरपालिका–६ मा करिव ७० लाखमा १२ धुर जग्गा किनेर पार्टी कार्यालयको भवन बनाइएको छ। करिव २ करोड लागत अनुमान गरिएको उक्त भवन अध्यक्ष पुष्पकमल दाहालले उदघाटन गरेका थिए।

भवन निर्माणका लागि स्थानीय व्यापारीले रड, सिमेन्ट, गिट्टी, बालुवा सहयोग गरेका थिए। ज्यामी (मिस्त्री)को ज्यालाका लागि रकम संकलन गरिएको थियो। चार तले भवनमा १४ वटा कोठा, एउटा हल र एक किचन छ।

भवन बनेको करिव २ वर्ष वितेको छ। तर, आम्दानी खर्च विवरण सार्वजनिक नगरिएको भन्दै स्थानीय नेता कार्यकर्ताले दाहालको आलोचना गरिरहेका छन्। दाहाल आफु इन्चार्ज नहुँदा पनि सिन्धुलीमा समानान्तर कमिटी चलाएर लेवी संकलन गरी हिनामिना गरेको आरोप लाग्ने गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट