सप्तरीमा विद्यार्थीलाई घर खेदेर कक्षा कोठामै कुम्भकर्ण पोजिसनमा सुत्छन् शिक्षक/कर्मचारी

राजविराज– सप्तरीको विष्णुपुर गाउँपालिका स्थित एउटा विद्यालयका शिक्षक तथा कर्मचारी विद्यालय समयमै कक्षा कोठामा सुत्ने गरेको पाईएको छ।

आधारभूत विधालय सिम्राहा सिङ्यौनका एक जना शिक्षक र एक जना कर्मचारी कक्षा कोठामा सुतिरहेकै अवस्थामा फेला परेका छन्। गाउँपालिकाको शिक्षा समिति सदस्य तथा वडा नम्बर १ का अध्यक्ष बलराम यादव र शिक्षा संयोजक रामेन्द्रनाथ यादवसमेतको अनुगमन टोलीले उनीहरुलाई सुतिरहेको अवस्थामा फेला पारेको हो।

यसरी कक्षा कोठामा सुत्ने शिक्षक लालबहादुर यादव र कार्यालय सहयोगी रघुनाथ यादव हुन। गाउँपालिका अध्यक्ष उमेशप्रसाद यादवका अनुसार अनुगमन टोली मंगलबार ठिक साढे ११ बजे विद्यालयमा पुगेको थियो। कक्षा कोठामा हेर्दा दुई जना ब्यक्ति सुतिरहेका थिए। अनुगमन टोलीले उनीहरुको फोटो खिचेर सोधखोज गर्दा एक जना शिक्षक र एक जना कार्यालय सहयोगी भएको खुल्यो।

अनुगमन टोलीले खिचेको फोटो हेर्दा उनीहरु बालकक्षामा सुतेको अनुमान लगाउन सकिन्छ। कक्षा कोठामा हरियो रंगको कार्पेट ओछ्याईएको छ। सोही कार्पेटमा उनीहरु पाठ्यपुस्तकको सिरानी बनाएर खुट्टा फालेर मस्त निन्द्रामा छन्।

उक्त कक्षा कोठाका विद्यार्थीलाई अन्यत्र पठाएर उनीहरु सुतेका हुन वा विद्यार्थी नै नआएका हुन भन्ने खुलेको छैन। स्थानीयले भने विद्यार्थीलाई कहिले खेल्न पठाएर र कहिले घर खेदेर शिक्षकहरु सुत्ने गरेको आरोप लगाएका छन्।

गाउँपालिका अध्यक्ष यादवले भने यसको निन्दा गरेका छन्। ‘यस्तै–यस्तै अवस्था हेर्दा र गुणस्तरीय शिक्षाको कुरा गर्दा विभिन्न बहानाबाजी गरि र केही राजनीतिक व्यक्तिहरुको समेत आडमा विभिन्न बहाना गरि आन्दोलनमा जान्छ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन्–‘प्रत्यक्ष प्रमाण सहित हेर्नुस्। शिक्षा यस्तो शक्तिशाली हतियार हो, जसको प्रयोगले संसार बदल्न सक्छौ। यस्तो अवस्थामा गुणस्तरीय शिक्षाको कल्पना गर्न सकिन्छ त?’

गतवर्ष फागुनमा यो गाउँपालिकामा शिक्षक–कर्मचारीले तलबभत्ता नपाएको भन्दै आन्दोलन गरेका थिए। अध्यक्ष यादवले यही आन्दोलनलाई लक्षित गरेर स्ट्याटस लेखेको अनुमान छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट