डब्लुएचओले ‘विश्वव्यापी जनस्वास्थ्य आपतकाल’ घोषणा गरेको मंकीपक्सको जोखिम नेपालमा कति ?
काठमाण्डौं– विश्व स्वास्थ्य संगठनलाई ‘विश्वव्यापी जनस्वास्थ्य आपतकाल’ घोषणा गर्न बाध्य पारेको मंकीपक्स संक्रमणको जोखिम नेपालमा पनि देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल संक्रमणको उच्च जोखिममा रहेको जनाएको छ।
मंकीपक्स भाइरसको संक्रमण छिमेकी देश भारतमा द्रुतरूपमा फैलिरहेकाले जोखिम नेपालमा यसको संक्रमण उच्च रहेको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए। नेपालमा अघिल्लो वर्ष १ जना ६० वर्षीया विदेशी महिलामा यो सङ्क्रमण देखिएका थियो।
बुढाथोकीले मंकीपक्सको पूर्वतयारीबारे मन्त्रालयले विषय विज्ञसँग सुझाव लिइसकेको बताए। हवाई तथा सीमा नाकामा रहेका हेल्थ डेस्क तथा सरुवा रोगको निगरानी गर्न संघ, प्रदेश र स्थानीय तहलाई निर्देशन दिइसकेको पनि उनको भनाई छ।
उनका अनुसार ७ सातवटै प्रदेशमा रोगको रोकथाम र व्यवस्थापनका लागि अस्पताल र चिकित्सक तोकिएको छ। मन्त्रालयको पूर्वतयारी प्रतिकार्य र व्यवस्थापन भएता पनि नागरिकबाट जनस्वास्थ्यका मापदण्ड पालना भए मात्र मंकीपक्स सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्न सम्भव हुने बुढाथोकीको भनाई छ।
केही दिनयता अफ्रिकी मुलुक कङ्गोमा मंकीपक्स भाइरसको घातक प्रजाति ‘क्लेड १ वी’ फैलिरहेको छ। जनवरी यतामात्र उक्त भाइरसका कारण ५४८ जनाको मृत्यु भइसकेको छ। विश्व स्वास्थ्य सङ्गठनले पनि मंकीपक्स सङ्क्रमण बढिरहेकाले विश्वव्यापी जनस्वास्थ्य आपतकालिन घोषणा गरेको छ।
यो संक्रमणसङ्क्रमित व्यक्ति वा पशुसँगको सम्पर्कमा आउँदा, मानिसको घाउ, खटिरा, बिमिराको सम्पर्कबाट, शरीरमा निस्किएको तरल पदार्थ थुक, र्यालको सम्पर्कबाट र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्दछ।
सङ्क्रमित ब्यक्तिलाई ज्वरो आउने, तीन दिनभित्रमा छाला, अनुहार, हत्केला र पैतालामा डाबर देखापर्ने, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उक्किने, टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रन्थीहरु बढ्ने गर्दछन।
आँखामा सङ्क्रमण भई दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वरो, गर्भ खेर जाने र मृत्यु हुन सक्ने चिकित्सकहरु बताउँछन्।