कोशी प्रदेशमा ६ जना मुख्यमन्त्री र तीनका सचिवालयले प्लेन टिकट र भत्तामा मात्रै सके ५६ लाख

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री र उनीहरुको सचिवालयका सदस्यले विराटगर–काठमाण्डौं आउजाउको प्लेन टिकट तथा दैनिक भ्रमण भत्तामा मात्रै करिव ५६ लाख रुपैयाँ स्वाहाः पारेको फेला परेको छ।

यस अवधिमा मुख्यमन्त्री बनेका ६ जनाले प्लेन टिकटमा मात्रै ३५ लाख रुपैयाँ सकेका छन् भने उनीहरूको सचिवालयसहितको भत्ता जोड्दा ५६ लाख खर्च भएको देखिन्छ। पहिलो मुख्यमन्त्री शेरधन राई ३ फागुन ०७४ मा नियुक्त भएर १० भदौ ०७८ मा बिदा भएका थिए।

उनले हवाई टिकटमा १ लाख ९५ हजार ६३५ रुपैयाँ तथा २७ हजार रुपैयाँ दैनिक भ्रमण भत्तामा खर्च गरेका छन्। उनको सचिवालयले १ लाख २२ हजार ६४८ रुपैयाँ बुझेको मुख्यमन्त्री कार्यालयले जनाएको छ। साढे ३ वर्ष प्रदेश सरकारको नेतृत्व गरेका राईले हवाई भाडा र दैनिक भ्रमण भत्ता गरेर ३ लाख ४५ हजार २८३ रुपैयाँ बुझेका छन्।

एमालेबाटै ६६ दिन मुख्यमन्त्री बनेका भीम आचार्यले दैनिक भ्रमण भत्ताबापत ४० हजार ५४० रुपैयाँ बुझेको छ भने उनको सचिवालयले ७४ हजार ७ सय रुपैयाँ बुझेको छ। १० भदौ ०७८ मा नियुक्त भएका आचार्यले १६ कात्तिक ०७८ मा राजिनामा दिएका थिए।

आचार्यपछि १६ कात्तिक ०७८ मा मुख्यमन्त्री बनेका राजेन्द्र राईले हवाई टिकटमा ३ लाख ४३ हजार ३७६ र दैनिक भ्रमण भत्ता १ लाख ४१ हजार ९०५ रुपैयाँ बुझेका छन्। उनको सचिवालयले भ्रमण भत्ताका नाममा मात्र ५ लाख ९३ हजार रूपैयाँ उडाएको छ।

मुख्यमन्त्री र सचिवालयको भ्रमण भत्ता र हवाई टिकटका लागि आर्थिक वर्ष २०७८/७९ मा कुल १० लाख ७८ हजार २८१ रुपैयाँ खर्च भएको छ। आव २०७९/०८० मा उनले हवाई टिकटमा ५ लाख ७६ हजार ३८० सहित कुल २० लाख ६० हजार २६९ रुपैयाँ सकेको रेकर्डमा देखिएको छ। उनी २५ पुस ०७९ मा पदबाट वाहिरिएका थिए।

प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो मुख्यमन्त्रीमा २५ पुस ०७९ मा एमालेका हिक्मत कार्की नियुक्त भए। २०७९÷८० मा कार्कीले हवाई भाडामा ४ लाख ७६ हजार ५७५ रुपैयाँ खर्च गरेका छन् भने उनको सचिवालयले दैनिक भ्रमण भत्ताबापत १ लाख २३ हजार ४७० रुपैयाँ बुझेको छ। कुल खर्च हिसाव गर्दा ६ लाख ४५ रुपैयाँ पुग्छ।

२०८०÷०८१ देखि हालसम्म कार्कीले हवाई टिकटमा ६ लाख १६ हजार ७६० सहित कुल ७ लाख ३९ हजार २५४ रुपैयाँ खर्च गरिसकेका छन्। यो दुवै जोड्दा उनले गरेको खर्च १३ लाख ३९ हजार २९९ पुग्छ। हिक्मत बहालवाला मुख्यमन्त्री पनि हुन्।

३६ दिन मात्रै मुख्यमन्त्री बनेका नेपाली कांग्रेसका उद्धव थापाले हवाई टिकटमा ८८ हजार ३० र भ्रमण भत्ताबापत २७ हजार बुझेका छन्। उनको सचिवालयले २ हजार खर्च बुझेको छ। उनको पालामा कुल खर्च १ लाख १७ हजार ३० रुपैयाँ भएको छ। १७ साउन ०८० मा नियुक्त भएका थापा ५ भदौ ०८० मा गते बिदा भएका थिए।

२८ असोज मा मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीले हवाई टिकटमा १० लाख ४८ हजार २६० र दैनिक भ्रमण भत्ता १ लाख ५९ हजार ७५० रुपैयाँ बुझेका छन्। उनको सचिवालयले २ लाख ४८ हजार ५४९ रुपैयाँ बुझेको छ। कुल खर्च १४ लाख ५६ हजार ५५९ पुग्छ। उनी २७ वैशाख ०८१ मा पदबाट वाहिरिएका हुन।

यसरी, ६ मुख्यमन्त्री र तिनका सचिवालयले बुझेको हवाई टिकट र भ्रमण भत्ताको खर्च जोड्दा कुल ५५ लाख ७९ हजार ५७५ रुपैयाँ पुग्छ। त्यसमध्ये हवाई टिकटमा ३४ लाख ९० हजार ९११ र दैनिक भ्रमण भत्तामा २० लाख ८८ हजार ६६४ रुपैयाँ खर्च भएको मुख्यमन्त्री कार्यालयको तथ्यांकमा उल्लेख छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट