सरकारी खर्चमा परिवारै लिएर आरजु राणा दिल्लीमा, भाई र आमा पनि भ्रमण टोलीमा !

काठमाण्डौं– परराष्ट्रमन्त्री आरजु राणा ५ दिने भारत भ्रमणका लागि आज नयाँ दिल्ली पुगेकी छिन्। भारतमा रहँदा उनले प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर लगायतका नेताहरुसँग भेटवार्ता गर्ने कार्यसूचि तयार भएको छ।

मन्त्री राणाले भोलि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस. जयशंकर लगायतसँग भेटवार्ता गर्नेछिन्। यता, मन्त्री राणाको भारत भ्रमण राजनीतिक भन्दा पनि पारिवारिक भ्रमण जस्तो देखिएको भन्दै आलोचना सुरु भएको छ।

आरजु परिवारका सदस्यको दलबल नै लिएर दिल्ली पुगेकी छिन्। आरजु छोरा जयवीर सिंह, बुहारी शिवाना श्रेष्ठ, भाइ भूषण राणा, आमा प्रतिभा राणा र अन्य पारिवारिक सदस्य पनि लिएर दिल्ली पुगेकी छिन्।

भारत सरकारले आरजुको सुरक्षामा बुलेट प्रुफ गाडी उपलब्ध गराएको छ। आरजुलाई लिन डीएल ३ सीसीवाई ००८ नम्बरको मर्सिडिज बुलेट प्रुफ गाडी इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेको थियो। उनलाई नयाँ दिल्लीमा भारतका लागि नेपालका कार्यवाहक राजदूत सुरेन्द्र थापा र भारतीय विदेश मन्त्रायका उत्तरी महाशाखा प्रमुख अनुराग श्रीवास्तवले स्वागत गरे।

नयाँ दिल्ली पुगेसँगै उनी साकेटस्थित सेराटन होटलमा भेटघाटका कार्यक्रम गरिरहेकी छन्। उनको बसाइँ पनि सोही होटलमा व्यवस्थापन गरिएको छ। उनको स्वागतमा दिल्लीस्थित नेपाली दूतावासले आइतबार रात्रिभोजको आयोजनासमेत गरेको छ।

उपचारको सिलसिलामा नयाँदिल्ली जाने योजनामा रहे पनि डा. राणाको भ्रमणलाई औपचारिक स्वरुप प्रदान गर्न भारतीय विदेशमन्त्री जयशंकरले निम्तो पठाएका थिए। उपचार र उच्चस्तरीय भ्रमण सम्पन्न गरेर मन्त्री राणा बिहीबार (भदौ ६ गते) स्वदेश फर्कनेछिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट