भारतले किन उच्च प्राथमिक्तामा राख्यो आरजुको भ्रमण, सम्भव छ मोदीसँगको भेट ?
काठमाण्डौं– परराष्ट्रमन्त्री डा. आरजु राणा आज पहिलो विदेश भ्रमण गर्दै भारत जाँदैछिन्। भ्रमणका क्रममा उनले भारतका उच्च अधिकारीसँग भेट्ने कार्यसूची छ।
भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भारतको छिमेक नीतिमा नेपाल प्राथमिकतामा परेको मित्र (प्रायोरिटी पार्टनर) भएको उल्लेख गरिएको छ। नेपालको तर्फबाट परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा पनि उच्चस्तरीय भ्रमणले दुई मुलुकबीचको पुरानो सम्बन्धलाई थप सुदृढ तुल्याउने उल्लेख गरिएको छ।
भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा ४ दिन भ्रमणमा जान लागेकी राणा आज बिहान ११ः३० बजे भारत प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। भारतको औपचारिक भ्रमणमा उनले त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तयारी छ। तर, हालसम्म त्यसको टुङ्गो लागेको छैन।
यद्यपी, राणाको भ्रमणलाई उच्च प्राथमिकतामा राखेको संकेत नयाँ दिल्लीले दिएको छ। नयाँ दिल्लीका अधिकारीहरूले प्रधानमन्त्री मोदीसँग राणाको भेटघाटको प्रबन्ध मिलाइने वचन पनि दिएका छन्।
यसअघि उपचारको सिलसिलामा राणा नयाँदिल्ली जाने योजनामा रहेपनि उनको भ्रमणलाई औपचारिक स्वरुप प्रदान गर्न भारतीय विदेशमन्त्री जयशंकरले निम्तो पठाएका थिए। भारतीय विदेशमन्त्री डा. जयशंकरसँग मन्त्री राणाको सोमबार भेटवार्ता हुने बताइएको छ।