महिला चिकित्सकको बलात्कारपछि हत्या भएको घट्नाले भारतको स्वास्थ्य क्षेत्र अस्तब्यस्त

काठमाण्डौं– भारतको पश्चिम बंगालस्थित कोलकातामा एक महिला चिकित्सकको बलात्कारपछि हत्या गरिएको विरोधमा भारतका डाक्टरहरूले देशव्यापी हड्ताल गरेका छन्। भारतीय डाक्टरहरूको सबैभन्दा ठूलो संगठन इन्डियन मेडिकल एसोसिएसन (आईएमए)ले शनिबार देशभरका अस्पतालमा अत्यावश्यकबाहेकका सेवा बन्द गरेको हो।

आईएमएले अत्यावश्यक र दुर्घटनासम्बन्धी उपचार भने जारी राखेको छ। कतिपय सरकारी अस्पतालका चिकित्सकहरूले भने आईएमएले हडताल आह्वान गर्नुअघि नै जरुरीबाहेकका शल्यक्रिया नगर्ने बताएका थिए।

कोलकातास्थित एक अस्पतालकी ३१ वर्षीया प्रशिक्षार्थी चिकित्सक मौमिता देवनाथको अघिल्लो शुक्रबार बलात्कारपछि हत्या गरिएको थियो। ती चिकित्सकको शव आरजी कर मेडिकल कलेजको सेमिनार हलमा अर्धनग्न र चोटपटक लागेको अवस्थामा फेला परेको थियो। अस्पताल स्रोतका अनुसार ती महिला चिकित्सक आफ्नो ड्यूटी सकेर आराम गर्न गएकी थिइन्।

आईएमएले उक्त घटनालाई ‘महिलाका लागि असुरक्षित ठाउँमा भएको बर्बर अपराध’ भनेको छ। चिकित्सहरुले ‘हामीलाई न्याय चाहियो’, ‘दोषीलाई कडा कारबाही होस्,’ ‘उपचार गर्ने हात रक्ताम्य हुनुभएन’, लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई दिनअघि ‘महिलामाथि राक्षसी व्यवहार गर्नेलाई चाँडोभन्दा चाँडो निकै कडा सजाय हुनुपर्ने’ बताएका थिए। ‘हाम्रा आमा, दिदीबहिनी र छोरीहरूमाथि हुने अत्याचारबारे समाजले गम्भीर भएर सोच्नुपर्छ,’ भारतको स्वतन्त्रता दिवसमा आयोजित समारोहलाई सम्बोधन गर्दै मोदीले भनेका थिए।

महिला चिकित्सकमाथि बलात्कार र हत्या भएको अस्पतालमा शुक्रबार एक भीडले तोडफोडसमेत गरेको छ। तोडफोडमा संलग्न भएको आरोपमा कम्तीमा २५ जना पक्राउ परेका छन्। यो घट्नापछि आईएमएले स्वास्थ्यकर्मीहरूको सुरक्षाका लागि कानुनी सुधार, अस्पतालको सुरक्षा व्यवस्थामा सुदृढीकरण र आरामका लागि सुरक्षित स्थान बनाउनुपर्ने लगायतका माग अघि सारेको छ।

घटनामा संलग्न भएको आशंकामा एक जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ती व्यक्ति अस्पतालमा स्वयंसेवकको काम गर्न आएका थिए। बलात्कारपछि हत्या गरिएकी चिकित्सकका आमाबुबाले पनि घटनामा प्रशिक्षार्थी र अन्य चिकित्सक संलग्न रहेको बताएका छन्। उनीहरूले सीबीआईलाई शंकास्पद व्यक्तिहरूको नामसमेत दिएका छन्।

प्रहरीले अनुसन्धानमा ढिलाई गरेको व्यापक गुनासोपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) लाई घटनाबारे विस्तृत अनुसन्धान गर्ने जिम्मेवारी दिइएको छ। सीबीआईको १२ सदस्यीय विशेष टोलीले घटनाको अनुसन्धान गरिरहेको छ। शुक्रबार दुई प्रशिक्षार्थी र एक कर्मचारीसँग सोधपुछ पनि गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट