२३ वर्षीय युवाको दोब्बर उमेरकी महिलासँग प्रेम, विवाहका लागि दबाब परेपछि प्रेमीकाको हत्या
काठमाण्डौं– आफुभन्दा दोब्बरभन्दा वढि उमेरकी महिलासँग प्रेममा परेका रुकुम पश्चिमको चौरजहाारी नगरपालिकाका २३ वर्षीय एक युवकले विवाहका लागि दबाब दिन थालेपछि महिलाको हत्या गरेका छन्।
चौरजहारी नगरपालिका– ११, माथिल्लो सर्केनाका २३ वर्षीय प्रेम मल्लले सानीभेरी गाउँपालिका–४, लामाचौरकी ४९ वर्षीया सुशीला मल्लको हत्या गरेका हुन। सुशीलाको शव २३ साउनको विहान सवा ८ बजे आफ्नै घरमा फेला परेको थियो। उनको २२ साउनको राती हत्या भएको प्रहरीले जनाएको छ।
प्रेमलाई प्रहरीले २५ साउनमा घरबाटै पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डीएसपी नवराज पोखरेलका अनुसार प्रेम र सुशीलाको जाजरकोटको रिम्ना मेलामा डेढ वर्षअघि चिनजान भएको थियो। त्यहीदेखि उनीहरु सामान्य कुराकानी हुँदै प्रेम सम्वन्धमा परेका थिए।
सुशीला गाउँमा माताको रुपमा परिचित थिईन भने प्रेमले पनि गाउँमा झारफुक गर्ने गरेको खुलेको छ। यही सम्वन्धका कारण नजिकिएका उनीहरु फोनमा कुराकानी गर्दागर्दै प्रेममा परे। पछिल्लो समय महिलाले विवाहका लागि दबाब दिन थालेकी थिईन। हत्याको अघिल्लो दिन राती प्रेम सुशीलाको घरमै बसेका थिए। भोलीपल्ट बिहान जाजरकोटको रिम्ना बजार र रुकुम पश्चिमको चाइनाबगर बजार गई घुमफिर गरेर साँझ फेरी सुशीलाकै घरमा फर्किए।
त्यसै रात सुशीलाले आफूहरूको सम्बन्धका बारेमा घरमा र गाउँघरका मानिसहरूले थाहा पाइसकेको भन्दै विवाहको प्रस्ताव गरेकी थिईन। प्रेम भने उनीसँग विवाह गर्ने पक्षमा थिएनन्। आफू छोरा उमेरको भएको हुँदा बिहे गर्न नसक्ने भन्दै उनले निरन्तर इन्कार गरिरहे। त्यहीबीच उनीहरूको विवाद सुरू भयो।
विवाद बढ्दै गएपछि उनीहरू आपसमा भिड्न थालेका थिए। त्यसपछि प्रेमले फलामको तावा, सिलौटो, लोहोरोलगायतले हिर्काएर वेहोस बनाएपछि सलले घाँटी बाँधेर हत्या गरे। घट्नाक्रम आरोपितले स्विकार गरेका छन्। प्रहरीले घटनास्थलबाट रगत लागेको फलामको तावा, सिलौटो, लोहोरो, बाङ्गिएको चम्चा तथा आरोपीको घरबाट सुशीलाको मोबाइलसमेत बरामद गरेको छ।
सुशीलाका तीन भाई छोरा छन्। जसमध्ये दुई छोरा तेस्रो मुलुक र कान्छा छोरा भारतमा छन्। सुशीला घरमा जेठी बुहारीसँगै बस्दै आएको खुलेको छ। बुहारी भूकम्पपछि निर्मित टहरामा सुत्न जाने गरेकाले सुशीला र प्रेम नजिकको छुट्टै घरमा बस्थे।