प्रभु बैंकमा ब्यक्तिको खाताबाट सवा करोड हिनामिना: कर्मचारी फरार, बैंक भन्छ– कागजपत्र नक्कली

दमक– प्रभु बैंकको बिर्तामोड शाखामा ग्राहकको खातामा जम्मा रहेको १ करोड १७ लाख रुपैयाँ अपचलन गरेको विषय अहिले उत्कर्षमा छ।

खातावाल बिर्तामोड–५ की मन्जुकुमारी नेपालले पटक–पटक गरी प्रभु बैंकको बिर्तामोड शाखामा १ करोड १९ लाख रुपैयाँ फिक्स्ड डिपोजिट गरेकोमा उक्त रकम हिनामिना भएको भन्दै रकम दावी गरेकी छिन्। उनका अनुसार हाल खातामा २ लाख मात्र जम्मा देखिएको छ।

मम फ्याक्ट्रीको सञ्चालकसमेत रहेकी मन्जुका पति टीकाराम नेती (नेपाल) ले बैंकका मार्केटिङ म्यानेजर चन्द्रगढी बस्ने प्रमोद सिटौलाले आफूले जम्मा गरेको रकम नियतवश हिनामिना गरेको दाबी गरेका छन्। टिकाराम सूर्योदय टेलिभिजनका कार्यक्रम निर्माता तथा अग्रज पत्रकारसमेत हुन।

छ महिनाको फिक्स्ड डिपोजिट म्याच्योर्ड भएपछि रकम निकाल्न जाँदा खातामा २ लाख रुपैयाँ मात्र छ भनेर बैंकले जवाफ दिएको उनको भनाई छ। सिटौला भने फरार छन्। घट्ना वाहिरिएपछि बैंकले छानबिन समिति गठन गरेको थियो।

बैंकका कोशी प्रदेश प्रमुख बद्रीबहादुर कट्वालको संयोजकत्वमा गठन भएको समितिले मन्जुलाई नै गलत सावित गरेको छ। समितिका अनुसार उनले आधिकारिक च्यानलबाट पैसा जम्मा भएको देखिएको छैन। मन्जुले जम्मा गरेको मुद्दती रसिद, बैंक स्टेटमेन्ट र ब्यालेन्स सर्टिफिकेट समेत नक्कली भएको समितिको दावी छ।

समितिका संयोजक कट्वालले प्रेस विज्ञप्ति जारी गरी आन्तरिक छानबिन गर्दा उक्त मुद्दती रसिद, ब्यालेन्स सर्टिफिकेट र स्टेटमेन्ट बैंकबाट जारी गरिएको नभई अनधिकृत एवं नक्कली रहेको भेटिएको जनाएका छन्।

उनले सो सम्बन्धमा थप छानबिन भइरहेको र कानुन बमोजिम अनुसन्धान गरी दोषीउपर कारबाहीका लागि आवश्यक प्रक्रिया अगाडि बढाई सकिएको विज्ञप्तिमा उल्लेख छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट