जंगली जनावरको सिकार गर्न गएका युवक आफैं सिकार भए, २ जना पक्राउ
काठमाण्डौं– डोटीको पूर्वीचौकी गाउँपालिका–६, गाँजरीस्थित घोत्नेगडा सामुदायिक वनमा गोली लागेर ३० वर्षीय अमर थापाको मृत्यु भएको छ। जंगली जनावरको शिकार गर्न गएका उनी आफै गोलीको शिकार भएका हुन।
जिल्ला प्रहरी कार्यालय डोटीका एसपी विष्णुहरि कोइरालाका अनुसार गोली लागेपछि थापाको घटनास्थलमै मृत्यु भएको थियो। थापामाथि कसरी गोली प्रहार भयो भन्ने खुलेको छैन।
उनका अनुसार थापासँगै अरू दुइजना पनि शिकार खेल्न जंगल गएका थिए। सँगै गएका पूर्वीचौकी गाउँपालिका–६ का ३३ वर्षीय रामबहादुर साउद र ४२ वर्षीय दिल्लीबहादुर साउदलाई प्रहरीले पक्राउ गरेको छ।
धानबारीमा लुकेको अवस्थामा शुक्रबार राती करिब १० बजे डोटीको नारीदाङबाट उनीहरु पक्राउ परेका हुन। उनीहरुलाई जिल्ला प्रहरी कार्यालय डोटीको हिरासतमा राखिएको छ।
प्रतिक्रिया