सौर्य जहाज दुर्घटनामा घाइते पाईलट शाक्यलाई अस्पतालबाट डिस्चार्ज गर्ने तयारी
काठमाण्डौं— सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाइते भएका पाइलट मनीषरत्न शाक्य अस्पतालबाट डिस्चार्जको तयारीमा छन्। शाक्याको उपचार गरिरहेको काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको हो।
अस्पतालका अनुसार शाक्यको स्वास्थ्यमा सुधार हुँदै गएको छ। उनी सामान्य हिँडडुल गर्न सक्ने भएका छन्। ढाडको एउटा हड्डीका र देब्रेपट्टिका ३ वटा करङ भाँचिएका कारण फलोअप भने गरिरहनु पर्ने चिकित्सकहरुले वताएका छन्।
शाक्यको अनुहार, आँखा, नाक र टाउकामा पनि चोट लागेको थियो। ९ साउनमा दुर्घटनामा परेका उनलाई १० साउनमा आईसीयूबाट सामान्य वार्डमा सारिएको छ। विमानस्थलको कोटेश्वरतर्फ रनवे ०२ बाट उडेको विमान बिहान ११ बजेर ११ मिनेटमा दुर्घटनामा परेको थियो।
विमान दुर्घटनामा १८ जनाको ज्यान गएको थियो भने शाक्यलाई मात्रै नेपाली सेनाको बम डिस्पोजल टोलीले जिवितै उद्धार गरेको थियो। उद्धार गर्दा शाक्य बोल्न सक्ने अवस्थामा थिए।