प्रहरीले पक्राउ गरेका ब्यक्तिका विषयमा गाउँका दुई समुहबीच विवाद, खुकुरी प्रहारबाट एकको मृत्यु
काठमाण्डौं– काठमाण्डौं महानगरपालिका–१७ पोडेटोलस्थित २ नम्बर गल्ली ढल्कोमा बुधबार १ जनाको ज्यान जाने गरी भएको झडप प्रहरीले २ दिनअघि पक्राउ गरेका एक युवकसँग सम्वन्धित भएको खुलेको छ।
कुटपिटको घट्नामा संलग्न भई पक्राउ परेका युवकलाई पक्राउ गर्न भुमिका खेलेको भन्दै एक समुहले अर्का समुहलाई आरोप लगाएपछि विवाद हुँदा झडप भएको र पोडेटोलका ३३ वर्षीय अनित पुजारीको ज्यान गएको प्रहरीले जनाएको छ। अर्को समुहले हानेको खुकुरीको चोटको कारण पुजारीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए।
झडपमा घाईते भएका पोडेटोलकै ५२ वर्षीय सुविन्द्र पोडे, ५४ वर्षीय किरण पुजारी, ४९ वर्षीय दिनेश पुजारी, ४२ वर्षीया माया पुजारी, ३९ वर्षीय विक्रम पुजारी र २३ वर्षीय अमृत पुजारीको महाराजगंज स्थित त्रिवि शिक्षण अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र पिपुल्स अस्पतालमा उपचार भइरहेको छ।
घट्नामा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। पोडेटोलका १९ वर्षीय सुजल देउला, ३५ वर्षीय अमृत पुजारी, ३४ वर्षीय सागर देउला, ४६ वर्षीय रविन्द्र पोडे, २९ वर्षीया कलेनी पुजारी, ३५ वर्षीया टिकामाया पुजारी र २२ वर्षीया सञ्जाली पुजारी पक्राउ गरी प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा राखिएको छ।
प्रहरीका अनुसार पक्राउ परेका सुविन्द्र, रविन्द्र र घाइते भएका किरण एक समूह तथा मृतक अनित, घाइते विक्रम, दिनेश र पक्राउ परेका अमृत अर्को समूहका हुन। उनीहरुबीच यसअघि १४ साउनमा पनि झडप भएको थियो। वडा नम्बर १७ स्थित इन्द्रायणी मन्दिरमा भईरहेको मर्मतको काममा टेकेको भन्दै किरणमाथि अर्को समुहले कुटपिट गरेको थियो।
कुटपिटमा संलग्न समुहका एक जनालाई प्रहरी वृत्त सोह्रखुट्टेले पक्राउ गरेको थियो। सोही विषयमा हाम्रो मान्छेलाई किरणले थुनाएको भन्दै अनित, विक्रम, अमृत, दिनेशले किरणलाई आरोप लगाएपछि बुधबार उनीहरूबीच विवाद भएको प्रहरीले जनाएको छ। त्यसपछि सुविन्द्रले घर गई खुकुरी ल्याएर प्रहार गर्दा अनितको मृत्यु भएको पाइएको प्रहरीको भनाई छ।