नर्सको लापर्वाहीले क्यान्सरका बिरामीको मृत्यु, आवश्यकताभन्दा दश गुणा बढी मात्राको किमो दिएको खुलासा

चितवन– चितवनको भरतपुर स्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत बिरामीलाई आवश्यक्ता भन्दा १० गुणा बढी किमो (क्यान्सर कोषहरूलाई नष्ट गर्न प्रयोग गरिने औषधि) दिएका कारण विरामीको मृत्यु भएपछि दुईजना नर्सलाई निलम्बनमा परेका छन्।

अस्पतालका सूचना अधिकारी गृहीनारायण महतोका अनुसार नर्स प्रभा तामाङ र आकृति श्रेष्ठलाई निलम्बन गरिएको हो। दुई चिकित्सकसहित २३ जनासँग स्पष्टीकरण माग गरी सचेत गराइएको छ। अस्पतालले उपनिर्देशक डा. उमेश नेपाल, मेडिकल अङ्कोलोजी विभागका प्रमुख डा. गुरुशरण शाह र नर्सिङ् प्रमुख अनिता देवकोटा रहेको छानबिन समिति गठन गरेको थियो। समितिले ३ साउनमा प्रतिवेदन बुझाएको महतोले बताए।

अध्ययन टोलीले आफ्नो प्रतिवेदन दिएपछि सोही आधारमा दुईजनालाई निलम्बन र २३ जनालाई स्पष्टीकरण सोधिएको बताए। यससँगै आवश्यक कारबाही प्रक्रिया अघि बढाइने महतोले जानकारी दिए।

उनका अनुसार लमजुङको दोर्दीका ५० वर्षीय भक्तराज गुरुङको खुट्टामा छालाको क्यान्सर भएपछि उनको उपचार भइरहेको थियो। उपचारका क्रममा आवश्यकभन्दा बढी किमो दिएपछि गुरुङको मृत्यु भएको सुचना अधिकारी महतोले बताए।

बिरामीलाई ३ दशमलव ४ मिलिग्राम किमो दिनुपर्नेमा ३४ मिलिग्राम दिएपछि बिरामीको मृत्यु भएको थियो। महतोका अनुसार मेडिकल वार्डमा तीन पटकसम्म सोही मात्राको किमो दिएपछि बिरामीको शरीरले उक्त मात्रा धान्न नसकेर गत १३ असारको राति मृत्यु भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट