चिट खोसेको रिसमा परीक्षा नियन्त्रकमाथि हातपात, घट्ना लुकाउँदै क्याम्पस प्रमुख गोलमाल

काठमाण्डौं– काठमाण्डौंको लैनचौरस्थित सरस्वती क्याम्पसमा एक विद्यार्थीले परीक्षा निरीक्षकमाथि हातपात गरेका छन्। चिट चोर्न नदिएको रिसमा अनेरास्ववियुका नेतासमेत रहेका किङ्गा शेर्पाले परीक्षा निरीक्षक भीम सुवेदीमाथि हातपात गरेका हुन।

एमए तहको परीक्षा चलिरहेको वेला परीक्षार्थीले मोवाईलबाट चिट चोरेको देखेपछि निरीक्षकले मोवाईल खोसेका थिए। साथीको मोबाइल खोसेको र परीक्षा हलमासमेत छिर्न नदिएको भन्दै शेर्पाले सुवेदीमाथि हातपात गरेका हुन्।

सिसिटिभी फुटेजमा पनि विद्यार्थीले झम्टिएर निरीक्षकमाथि हातपात गरेको स्पष्ट देखिन्छ। सुवेदीमाथि विद्यार्थीले हातपात गरेपछि अन्य शिक्षक आएर छुट्याएका थिए। यो घट्नाले क्याम्पसमा केहीवेर खैलाबैलानै मच्चिएको थियो।

घटनाबारे थाहा पाएलगत्तै क्याम्पस प्रमुख गोलमान गुरुङ परीक्षा हलमा पुगेका थिए। उनले समेत अन्य परीक्षार्थीलाई अवरोध हुने भन्दै हातपात गर्ने विद्यार्थीमाथि कुनै कारबाही गरेनन्। क्याम्पस प्रशासनले हातपात गर्ने विद्यार्थीको नामसमेत लुकाएर उल्टै संरक्षण गरेको जनाईएको छ।

परीक्षा चलिरहेका वेला कक्षाकोठामा तनाव उत्पन्न भयो भन्ने सूचनाका आधारमा प्रहरी वृत्त सोह्रखुट्टेको टोली क्याम्पस पुगेको थियो। तर, प्रहरीलाई पनि क्याम्पस प्रशासनले उक्त विद्यार्थीमाथि कारबाही नगर्न सल्लाह दिएको थियो। प्रहरी वृत्त सोह्रखुट्टेका डिएसपी सत्यनारायण थापाका अनुसार प्रहरी पुग्दा माहोल शान्त भइसकेको थियो।

सोमबार पनि चिट चोरेकै विषयमा विद्यार्थी र निरीक्षकहरूबीच क्याम्पसमा भनाभन भएको खुलेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट