भद्रपुर प्रादेशिक अस्पतालका कर्मचारी कार्यालयभित्र मृत भेटिए
दमक– झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालका एक जना कर्मचारी अस्पतालमै मृत भेटिएका छन्। अस्पतालको स्वास्थ्य बिमा दाबी गर्ने शाखामा करारमा कार्यरत स्वास्थ्य सहायक २४ वर्षीय सुरज शर्मा अस्पतालभित्रै मृत भेटिएका हुन।
उनको शव प्रशासनिक भवन भित्र झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। भद्रपुर नगरपालिका–१० केन्द्रमोडका शर्मा प्रशासनिक भवनको तेस्रो तल्लाको बीमा कोठाभित्रै नाइलनको डोरीले झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
अस्पतालको सिसी टिभी फुटेज हेर्दा शर्मा हिजो राति करिब १० बजे सो कोठाभित्र एक्लै प्रवेश गरेको देखिएको छ। त्यसपछि नै उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ।
आज बिहान करिब ९ बजे सरसफाइ कर्मचारीले कोठाभित्र शव देखेपछि होहल्ला भएको थियो। वडा प्रहरी कार्यालय भद्रपुर र जिल्ला प्रहरी कार्यालय झापाको टोली घटनास्थल पुगेर शवलाई पोस्टमार्टमका लागि पठाएको छ।