हत्या अभियोगमा १० वर्ष जेल बसेर छुटेको ३ महिनामै फेरी अर्को हत्या
विराटनगर– ०७१ सालमा ढुङ्गाले हानेर साथीको हत्या गरेको अभियोगमा १० वर्ष जेल बसेर ३ महिनाअघि मात्रै मुक्त भएका उर्लाबारी नगरपालिका– ५ का सुवास तामाङ फेरी अर्को हत्या गरेर फरार भएका छन्।
तामाङले मंगलबार साँझ उर्लाबारी नगरपालिका–४ का २१ वर्षीय कुशल दाहालको छुरा प्रहार गरी हत्या गरेका हुन। उर्लाबारी– ५ स्थित उद्योग वाणिज्य संघको कार्यालय नजिकै रहेको आफनै घरमा आएका दाहालमाथि तामाङले छुरा प्रहार गरेका थिए।
गम्भीर घाइते दाहाललाई उर्लाबारीको गोदाबारी अस्पतालमा प्राथमिक उपचारपछि दमकको लाइफलाइन अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँबाट पनि उनलाई बी एन्ड सी अस्पताल बिर्तामोडस्थित लगिएको थियो। उपचारका क्रममा राति ९ बजे दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ।
दाहालको हत्यामा तामाङको संलग्नता रहेको र उनी फरार भएको दाबी प्रहरीको छ। प्रहरीका अनुसार अपराधिक पृष्ठभूमिका तामाङ घरमा एक्लै बस्दै आएका थिए। मंगलबार दाहालसँगै अन्य युवक पनि उनको घरमा पुगेको पाईएको छ। के कारणले छुरा प्रहार गरे भन्ने खुलिसकेको छैन। दाहालसँगै तामाङको घरमा गएका अन्य युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मोरङ प्रहरीका एसपी नवराज कार्कीका अनुसार तामाङ कर्तव्य ज्यान मुद्दामा सजाय भोगेर ३ महिनाअघि मात्रै जेलमुक्त भएका थिए। उनले ८ असोज ०७१ को राती ढुङ्गाले हानेर आफनै साथी उर्लाबारी–२ का नविन राईको हत्या गरेका थिए।
इलाका प्रहरी कार्यालय उर्लाबारीका तत्कालिन इन्स्पेक्टर रहेका कार्कीले नै गरेको अनुसन्धानका आधारमा तामाङमाथि कर्तब्य ज्यान मुद्दा चलेको थियो। उनलाई अदालतले १० वर्ष कैद सजाय सुनाएको थियो।