‘अरिङ्गाल हरायो खोजी दिनु पर्यो’ भन्दै वडा कार्यालयमा उजुरी

काठमाण्डौं– संविधानले स्थानीय तहमै कतिपय मुद्दामामिला समाधान गर्न सकिने प्रावधान ल्याएपछि न्यायीक समितिमा विभिन्न खाले उजुरी पर्ने गरेका छन्। कतिपय उजुरी सामान्य लागेपनि कतिपय उजुरी भने अनौठा र आश्चर्य लाग्दा हुने गरेका छन्।
गोरखामा एउटा यस्तै अनौठो उजुरी परेको छ। सहिद लखन गाउँपालिका–७ का एक ब्यक्तिले अरिङ्गाल चोरी भएको भन्दै वडा कार्यालयमा उजुरी दिएका छन्। वडा सदस्यसमेत रहेका डिलबहादुर गरन्जाले घरमा हुर्किरहेको अरिङ्गाल चोरी भएकाले खोजिदिन भन्दै उजुरी दिएका हुन।
वडाध्यक्ष शरण श्रेष्ठले घटनाको छानबिन र संलग्नमाथि कारबाहीको माग गर्दै घरधनीले निवेदन दिएको बताए। रातको समयमा आगो लगाएर घरमा भएको अरिङ्गालको गोलो लगिएको खुलेको छ। ‘सत्य तथ्य पत्ता लगाइदिनुप¥यो भनेर निवेदन आएको छ,’ वडाध्यक्ष श्रेष्ठले भने।
अरिङ्गाल चोरी गर्ने क्रममा घरमा पनि क्षति भएको उनले जानकारी दिए। भर्खरै रंगरोगन गरिएको घरमा सबैतिर धुवाँको कालो लागेको उनले जानकारी दिए। निवेदनका आधारमा संलग्नको पहिचान गर्ने प्रयास भईरहेको वडाध्यक्ष श्रेष्ठको भनाई छ।