चीनियाँ कम्पनीको अपार्दर्शी लगानीमा लहानका जनप्रतिनिधि र कर्मचारी थाईल्याण्डमा मस्त
लहान— चीनियाँ कम्पनीको पैसामा सिरहाको लहान नगरपालिकाका मेयरसहिततका जनप्रतिनिधि र कर्मचारीको एउटा डप्फा (टोली) थाईल्याण्ड पुगेको छ। तीन देशको भ्रमणमा निस्केको १६ जनाको टोली थाईल्याण्डबाट दुई टोलीमा विभाजन भएर मलेसिया र सिंगापुर जाने जनाईएको छ।
टोलीमा मेयर महेशप्रसाद चौधरी र प्रमुख प्रशासकीय अधिकृत जयकान्त झा नै अगुवा बनेर गएका छन्। यसैगरी वडाध्यक्ष्हरुा बद्रीनारायण चौधरी, रामऔतार शर्मा, गणेश चौधरी, कमरुद्धिन मियाँ, सूर्यनारायण चौधरी, युगलकिशोर चौधरी, तेजनारायण चौधरी, रामदयाल महतो, अब्दुल करिम, घुरन चौधरी, मनोज कोइराला, श्याम अधिकारी, रासलाल राय र मन्टी मण्डल पनि टोलीमा सहभागि छन्।
१० साउनमा नगरपालिका छोडेको टोली कहिले फर्कने भन्ने सुनिस्चितता छैन। निमित्त प्रमुख प्रशासकीय अधिकृत शत्रुधन चौधरीले उनीहरु कहिले फर्किने भन्ने जानकारी आफुलाई पनि नभएको बताए।
स्रोतका अनुसार उनीहरुको भ्रमणको सम्पूर्ण खर्च पूर्वपश्चिम राजमार्ग विस्तारको काम गरिरहेको चाइना रेल्वे नम्बर २ इन्जियरिङ ग्रुप र वाटर एड नामको आईएनजीओ ब्यहोरेका छन्। तर, वाटर एडले भने यो कुरालाई ठाडै अस्विकार गरेको छ। वाटर एडका एक कर्मचारीले बजार हल्लामा कुनै सत्यता नभएको वताए।
निमित्त प्रमुख प्रशासकीय अधिकृत चौधरीले पनि भ्रमण टोलीको आम्दानी र खर्चको विषय पनि आफनो जानकारीमा नभएको जानकारी दिए। पूर्व जनप्रतिनिधिहरुले भने भ्रमणको खर्च तत्काल सार्वजनिक गर्नु पर्ने र कार्यालय नै खाली गरेर हिडेको विषयमा नागरिकलाई जानकारी दिनुपर्ने माग गरेका छन्।
यता, मेयर र प्रमुख प्रशासकीय अधिकृत सहित जनप्रतिनिधि र कर्मचारी नगरपालिका नै खाली गरेर हिडेपछि नगरपालिका र सेवाग्राहीको कामकाज प्रभावित भएको छ। जनप्रतिनिधि र कर्मचारी नहुँदा सेवाग्रहीहरु कार्यालय पुगेर पनि काम नभई फिर्ता भईरहेका छन्।