सहकारी बैंक अध्यक्ष केबी उप्रेती सहित नौविरुद्ध सहकारी ठगी आरोपमा मुद्दा दायर
काठमाण्डौं– काठमाण्डौंस्थित आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको झण्डै १६ करोड रकम अपचलनको आरोप लागेका राष्ट्रिय सहकारी बैंकका अध्यक्षसमेत रहेका कृष्णबहादुर (केबी) उप्रेती विरुद्ध मुद्दा दायर भएको छ।
जिल्ला सहकारी वकिलको कार्यालय काठमाडौंले सहकारी ठगी मुद्दामा अध्यक्ष उप्रेतीसहित ९ जना विरुद्ध मुद्दा दायर गरेको हो। यो प्रकरणमा जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरी सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको थियो।
अध्यक्ष उप्रेती, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीका तत्कालीन उपाध्यक्ष शिवप्रसाद कट्टेल, तत्कालीन कोषाध्यक्ष मुकुन्द्रप्रसाद पाण्डे, सदस्य बद्री महत, सञ्चालकहरू अरुण भण्डारी र विष्णुबहादुर रिमाल, लेखा समिति संयोजक राजु पौडेल तथा सोही संस्थाका कर्मचारी विश्वम्भर रिमाल विरुद्ध अभियोगपत्र दायर भएको हो।
काठमाडौंमा केन्द्रीय कार्यालय भएर सञ्चालनमा रहेका पाँच सहकारी संस्था मर्जर भई आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था बनेको थियो। उप्रेती अध्यक्ष रहेको हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी सहित आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी र घेदुङ बहुउद्देश्यीय सहकारी मर्जर भएर आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी बनेको हो।
उप्रेती तत्कालीन हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी अध्यक्ष हुन्। मर्जरपछिको संस्थाका सदस्य प्रकाशमान शाही खड्गीलाई समेत मुद्दामा विपक्षी बनाइएको छ।
मर्जर अगाडि नै समस्या देखिएका संस्थामा मर्जरपछि एकीकृत कारोबार सुरु नभए पनि सबै संस्थाले बचत फिर्ता गर्न सकेका छैनन्। ७ संस्थाको एकीकृत करोबार ७ अर्बभन्दा धेरै छ। ७ अर्बमाथिको बचत दायित्व रहे पनि प्रहरीमा परेको जाहेरीका आधारमा अनुसन्धान भएर १५ करोड ७७ लाख २० हजार ४० रुपैयाँ ठगी गरेको पुष्टि भएको भन्दै अभियोगपत्र दर्ता भएको हो।
प्रतिवादीमध्ये केबी उप्रेती मात्रै पक्राउ परेका छन् भने अन्य अभियुक्त फरार छन्। उनीहरू विरुद्ध पक्राउ पुर्जी जारी गर्न माग गरिएको छ। पक्राउ परेका उप्रेतीले मर्जर अगाडिका पाँच वटै संस्थाका सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र उपसमिति समेत उक्त सहकारी ठगीमा बराबर जवाफदेही भएको बयान दिएका छन्।
उनले एकीकरणपछि आइडियल यमुना हाम्रो बहुद्देश्यीय सहकारी उपाध्यक्ष मनोजकुमार थापा मगर, सचिव कुयाङ छ्याङ दोर्जे लामा, कोषाध्यक्ष प्रजुलकुमार गुरुङ समेत कारबाहीको दायरामा आउनुपर्ने र अपचलन गरेको रकम दिलाउनुपर्ने बयान उप्रेतीले दिएका छन्।