भारतलाई ८ विकेटले पराजित गर्दै श्रीलंका पहिलो पटक एसिसी महिला एसिया कपको चेम्पियन

काठमाण्डौं– श्रीलंकाले पहिलो पटक एसिसी महिला एसिया कपको उपाधि जितेको छ। आइतबार घरेलु मैदानमा भएको फाइनलमा भारतलाई ८ विकेटले हराउँदै श्रीलंका पहिलोपटक महिला एसिया कपको चेम्पियन भएको हो।

सुरुमा ब्याटिङ गरेको भारतले ६ विकेट गुमाएर श्रीलंकालाई १६६ रनको लक्ष्य दिएको थियो। प्रत्युत्तरमा श्रीलंकाले १८ दशमलव ४ ओभरमा २ विकेटको क्षतीमा भारतलाई पराजित गर्यो। श्रीलंकाका लागि कप्तान चामरी अथापथ्थु र हर्सिथा समराविक्रमले ६३ बलमा ८७ रनको साझेदारी गरे।

लगातार नौपटक एसिया कप खेलेको श्रीलंका अपराजित रहँदै पहिलोपटक च्याम्पियन बनेको हो। यसअघि भारतले ७ पटक उपाधि जित्दा श्रीलंका पाँचपटक उपविजेता भएको थियो। टोली छैटौँपटक फाइनल पुग्दा सफल बन्यो। भारत सातपटक च्याम्पियन बन्दा श्रीलंका र बंगलादेशले समान एकपटक उपाधि जितेका छन्।

श्रीलंकाको जितमा कप्तान चामरीले ९ चौका र २ छक्कासहित ६१ रन बनाइन् भने हर्सिथाले ५१ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ६९ रन बनाएर अविजित रहिन। अविजित रहेकी कभिसा दिलहरिले १६ बलमा ३० रन बनाइन्। दिलहरि र हर्सिथाले तेस्रो विकेटले ४० बलमा ७३ रनको साझेदारी गरेका थिए।

यसअघि दम्बुलामा टस जितेर ब्याटिङ गरेको भारतको लागि ओपनर स्मृति मन्धराले ४७ बलमा १० चौकासहित सर्वाधिक ६० रन बनाइन्। रिचा घोसले ३० र जामिमाह रोड्रिगुइजले २९ रन बनाएकी थिइन्। श्रीलंकाकी दिलहरिले सर्वाधिक दुई विकेट हात पारिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट