शरणार्थी प्रकरणमा बेचन झा र प्रतीक थापालाई पक्राउ गरेका डीआईजीको जिम्मेवारी खोसियो

काठमाण्डौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा र पूर्वगृहमन्त्री रामबहादुर थापा छोरा प्रतीक थापालाई पक्राउ गर्न प्रमुख भुमिका खेलेका डीआईजी मनोज केसीलाई नेपाल प्रहरीको विशेष ब्यूरो प्रमुखको जिम्मेवारीबाट हटाईएको छ।

हाई प्रोफाईल आरोपितका रुपमा चर्चा गरिएका झा र थापा १४ असारमा पक्राउ परेका थिए। उनी पक्राउ परेपछि सरकार ढलेको भन्दै तत्कालिन गृहमन्त्री रवि लामिछानेले प्रतिनिधि सभाको राष्ट्रममै उभिएर बोलेका थिए।

डीआईजी केसीको सरुवालाई सोही प्ररकणसँग जोडेर हेरिएको छ। १६ जेठमा ब्यूरोमा सरुवा भएका केसीलाई सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको दिन गृहमन्त्री स्तरीय निर्णयबाट जिम्मेवारीबाट हटाइएको स्रोतले जनाएको छ।

केसी उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्वमा रहेका बेला नै भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सुरु भएको थियो। त्यसवेला उनी एसएसपी थिए। उनकै नेतृत्वमा अपराध अनुसन्धान कार्यालयले १२ चैत २०७९ मा यस प्रकरणका विचौलियाहरु मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो।

उनीहरुको बयानपछि हाई प्रोफाईल भीआईपीहरु तानिएका थिए। यो प्रकरणको दोस्रो चरणको अनुसन्धान थाल्न लाग्दा ४ भदौ २०८० मा तत्कालीन सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जोडबलमा केसी उपत्यका अपराध अनुसन्धान कार्यालयबाट हटाइएका थिए।

यसपटक पनि बेचन झा पक्राउपछि केसीलाई जिम्मेवारीबाट हटाईएको छ। केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरकै सिफारिसमा हटाइएको स्रोतको दाबी छ। झा र थापा पक्राउ पर्दा आईजीपी कुँवर विदेश भ्रमणमा थिए

झाबारे गहिरो अनुसन्धान भए नेपाली कांग्रेसकै नेताहरु तानिन सक्ने भएकाले अनुशन्धानमा सकृय प्रहरी अधिकारीहरुलाई निसाना बनाईएको अधिकृतहरुको दाबी छ। सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख एआईजी श्यामलाल ज्ञवालीलाई पनि हटाउने तयारी गरेको छ । रवि लामिछानेले गृहमन्त्री हुँदा ज्ञवालीलाई सीआईबी नेतृत्वमा ल्याएका थिए। लामिछानेले प्रहरी प्रमुखको काम समेत ज्ञवालीबाट नै गराउने गरेको चर्चा थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट