भरतपुरको केराबारीमा बस जस्तै बस्तु भेटियो, खोजतलासमा १९ किलोको चुम्बक त्रिशुलीमा बेपत्ता

चितवन– सिमलताल पहिरोमा परी वेपत्ता भएका २ वटा बस र यात्रुको निरन्तर खोजी गरिरहेको टोलीले चितवनको भरतपुर महानगरपालिका–२९ स्थित केराबारीमा बसजस्तै आकृतिको बस्तु देखिएको जनाएको छ।

त्रिशूलीको बिच भागमा देखिएको बस्तु यकिन गर्न गोताखोरलाई खबर गरिएको सुरक्षा स्रोतले जनाएको छ। यता, खोजतलासका लागि भारतबाट ल्याएको १९ किलोको चुम्बक शनिवार हराएको छ। बस र यात्रुको खोजीका लागि भारतले नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ) को १२ सदस्यीय टोली नेपाल पठाएको थियो।

सो टोलीले ल्याएका २ मध्ये एउटा चुम्वक हराएको हो। टोलीले पानीमुनि खोजतलासमा प्रयोग हुने अन्य उपकरणसँगै चुम्बक पनि ल्याएको थियो। जिल्ला प्रशासन कार्यालय चितवनका सहायक सीडीओ चिरञ्जीवी शर्माले खोजतलासका क्रममा १९ किलोको चुम्बक हराएको जानकारी दिए। उनका अनुसार टोलीले १९ र १४ किलोका २ चुम्बक ल्याएको थियो।

गत २८ असारमा वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस चितवनको भरतपुर नगरपालिका– २९, सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएका भएका थिए।

उक्त बसमा सवार ६५ जनामध्ये तीन जना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए। अझै दुई बससँगै अधिकांश यात्रुको अवस्था पत्ता लाग्न सकेको छैन। खोजतलासमा पनि शव फेला पर्न छोडेको सीडीओ कार्यालय चितवनले जानकारी दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट