मदिरा सेवन गरी गन्जीमै कार्यालयमा भेटिन थाले गण्डकीका मन्त्री

काठमाण्डौं– केही समय अघिसम्म गुण्डा नाईकेका नामले परिचित गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री राजीव गुरूङ (दीपक मनाङे) मदिरा सेवन गरी गन्जिमै मन्त्रालयमा वस्न थालेका छन्।

सामान्य अवस्थामा समेत अपशब्द बोल्ने र विवादित गतिविधि गर्दै आएका उनी पछिल्लोपटक गञ्जीमा मन्त्रालयको कार्यकक्षमा भेटिन थालेका छन्। मनाङेले कार्यालयमै मदिरापान गर्ने गरेको पनि भेटिएको छ।

शुक्रबारमात्र राइड सेयरिङलाई वैध बनाएर नियमन गर्दै खुला गर्न माग गर्न पुगेको समूहसँग मनाङेले गन्जीमै भेटेका थिए। उनले आफूले सिन्डिकेटको अन्त्य गरेर सबै चलाउने भन्दै उक्त समुहलाई रक्सी खाएर जान आग्रह गरे।

यातायात व्यवासायी महासंघले रातो नम्बर प्लेटले पनि यात्रु ओसार्न पाउने कार्यविधि नल्याउन बिहीबार ४८ घन्टे अल्टिमेटम दिएको थियो। त्यसपछि राइड सेयरिङ एपमार्फत चलेका राइडर्स ध्यानाकर्षण गराउन मन्त्री मनाङेसँग पुगेका थिए।

भेटमा मनाङले ट्याक्सी व्यवसायीलगायतले आफूलाई ब्याकमेलिङ गर्न खोजेको भन्दै आफू ढुक्कले रक्सी खाएर सुत्ने बताएका थिए। आफू स्पष्ट जे हो त्यही बोल्ने बताउने मन्त्री मनाङे अमर्यादित कृयाकलापका कारण विवादमा पर्दै आएका छन्।

उनको पछिल्लो गतिविधिका कारण मन्त्रालयका कर्मचारी समेत दिक्क भएका छन्। मन्त्रीको सामान्य मर्यादाकोसमेत ख्याल नगरी गञ्जीमै कार्यकक्षमा बसेको भन्दै उनीहरुले गुनासो गरेका छन्।

मनाङको प्रदेश निर्वाचन क्षेत्र १(२) बाट दोस्रोपटक स्वतन्त्र सांसद जितेका मनाङे सुरेन्द्रराज पाण्डे नेतृत्वको वर्तमान सरकारमा छैठौं पटक मन्त्री बनेका हुन्। उनीविरुद्ध सर्वोच्च अदालतमा ज्यान मार्ने उद्योगको मुद्दा अझै विचाराधीन छ।

मनाङे गुण्डा नाइके भनेर चिनिँदा नेपाली कांग्रेस निकट थिए। त्यसपछि राप्रपा प्रवेश गरेका उनी ०७४ को चुनावमा मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र १(२) मा स्वतन्त्र उम्मेदवार भएर जिते। तर, ज्यान मार्ने उद्योगको मुद्दामा दोषी ठहर भएर फरार सूचीमा रहेकाले उनलाई सपथ ग्रहणमा अवरोध भयो। ७ माघ ०७४ माघ ७ मा गण्डकी प्रदेशसभाका सबै सांसदले शपथ ग्रहण गर्दा उनले पाएनन्।

०६१ मा अर्का गुण्डा नाइके चक्रे मिलन भनिने मिलन गुरुङलाई खुकुरी प्रहार गरेको अभियोग उनीमाथि छ। यो मुद्दामा उनलाई जिल्ला अदालत काठमाडौंले २ वर्ष जेल सजाय सुनाएको छ। त्यसपछि पुनरावेदन अदालत पाटनले ०६९ मा उक्त फैसला उल्टाएर ज्यान मार्ने उद्योगको मुद्दा ठहर गर्दै मनाङेलाई ५ वर्ष जेल सजाय सुनाएको थियो।

उनी सांसद निर्वाचित भइसकेपछि ०७५ वैशाखमा पाटन उच्च अदालतमा उपस्थित भएर डिल्लीबजार कारागार भए। तर, सर्वोच्चमा पूनरावेदन गरे। ०७४ को फौजदारी संहिताले १० वर्षभन्दा कम सजाय हुने मुद्दामा जेल नबसी मुद्दाको पुनरावेदन गर्न पाउने सुविधाको दुरुपयोग गर्दै उनी ८ महिना जेल बसेर छुटे।

त्यसपछि उनले प्रदेशसभा सदस्यको शपथ लिए। सम्पत्ति शुद्धीकरणको अर्को मुद्दामा भने उनले विशेष अदालतबाट ०७४ मा सफाइ पाएका थिए। प्रदेश सभामा छिरेपछि उनी तत्कालीन नेकपामा प्रवेश गरे। प्रदेश सभाको पहिलो कार्यकालमा उनी तीन पल्ट युवा तथा खेलकुदमन्त्री, दोस्रो कार्यकालमा तीनपल्ट भौतिक पूर्वाधार मन्त्री बने।

गण्डकीमा हालसम्म मुख्यमन्त्री भएका पृथ्वीसुब्बा गुरुङ, कृष्णचन्द्र नेपाली, खगराज अधिकारी र सुरेन्द्रराज पाण्डे गरी चार जनाकै क्याबिनेटमा सहजै मन्त्री बन्ने सौभाग्य उनलाई मिलेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट