विमान दुर्घटनामा ज्यान गुमाएका १८ मध्ये ५ जनाको शव परिवारले बुझे (नामसहित)

काठमाडौँ — सौर्य एयरलाईन्सको विमान दुर्घटनामा ज्यान गुमाएका १८ मध्ये कोपाईलट सुशान्त कटुवालसहित ५ जनाको शव परिवारले बुझेका छन्। अन्य अधिकांश आफन्तले भने सरकार र सौर्य एयरलाइन्सले क्षतिपूर्ति, बिमा लगायतका विषयमा निचोड नदिएको भन्दै शव बुझ्न मानेका छैनन्।

महाराजगन्ज प्रहरी वृत्तका कोपाईलट सुशान्त कटुवाल, उद्धव पुरी, अस्मिन निरौला, श्याम विन्दुकार र राजाराम आचार्यको शव आफन्तले बुझेर अन्त्येष्टिका लागि लगिसकेका छन्। कतिपय आफन्त शव बुझ्न हतार गर्दै शिक्षण अस्तापलमा जम्मा भएका छन् भने केही मृतकका आफन्तले भने शव हेर्न भित्र बोलाएर जबर्जस्ती शव बुझेको कागजमा हस्ताक्षर गर्न गराउन लगाएको आरोप समेत लगाएका छन्।

शुक्रबार अपराह्नसम्म अधिकांश शवको पहिचान भइसकेको छ भने बढी जलेका शवको पहिचानमा भने केही समस्या भएको चिकित्सकहरुले बताएका छन्। सहजै परीक्षण सकिएका शव भने आजै वुझाईएको हो।

यता, क्षतिपूर्तिको विषयमा अझै सहमति हुन सकेको छैन। सौर्य एयरलाइन्स प्रालिले भने बुधबार (साउन ९ गते) त्रिभुवन विमानस्थलमा भएको दुर्घटनाबाट अकल्पनीय क्षति ब्यहोर्नुपरेको बताउँदै पीडित परिवारजनलाई कम्पनीको तर्फबाट हुन सक्ने सम्मको सहयोग, साथ र सदभाव सधैं रहने विश्वास दिलाएको छ।

कम्पनीले भनेको छ, ‘सौर्य एयरलाइन्सको व्यवसायिक विकास र विश्वसनियता आर्जनका लागि उहाँहरुले निष्ठापूर्वक पुर्याउनु भएको साथ, सहयोग र योगदानको उच्च कदर गर्दै यस संस्थाले सधै जिवन्त एवं चिर स्मरणीय इतिहासको रुपमा संरक्षण गर्ने विश्वास व्यक्त गर्दछौं।’

कम्पनीका अध्यक्ष दीपक कुमार पोखरेलले शुक्रबार विज्ञप्ति प्रकाशित गरी दुर्घटनामा परि प्रतिस्ठित विज्ञहरूको क्षति अकल्पनीय रहेको बताएका छन्।

९ साउनमा नियमित प्राविधिक परीक्षणका लागि पोखरा उडेको सौर्य एयरलाइन्सको विमान केही सेकेन्डमै त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो। सो विमानमा अधिकांश कम्पनीकै प्राविधिक कर्मचारी थिए। दुर्घटनामा परी १८ जनाको ज्यान गएको छ भने पाइलट मनीष शाक्य गम्भीर घाइते भएका छन्। उनको हाल उपचार चलिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट