एमाले कर्णालीका अध्यक्ष गुलाबजंगविरुद्ध २ महिनादेखि यौन उत्पीडनको आरोपमा छाननविन भईरहेको खुलासा

काठमाण्डौं– नेकपा (एमाले) का पोलिट्व्युरो सदस्य तथा कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाहविरूद्ध २ महिनादेखि यौन उत्पीडनको आरोपमा पार्टीभित्रै अनुशन्धान भईरहेको खुलासा भएको छ।

एमाले जिल्ला कमिटीमा समेत रहीसकेकी एक विवाहित महिला कार्यकर्ताले गत ११ जेठमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई सोम्बोधन गर्दै शाहविरुद्ध उजुरी दिएपछि एमाले अनुशासन आयोगले नेत्र पन्थीको संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनाएर अनुशन्धान गरिरहेको पाईएको छ।

कार्यदलले अध्यक्ष शाहसँग बयान पनि लिएको छ। कार्यदलले सुर्खेत पुगेर पार्टी स्थायी कमिटी सदस्य यामलाल कँडेल, प्रदेश उपाध्यक्ष टेकराज पछाईं, सचिव ध्रुव शाहीसँग पनि सोधपुछ गरेको छ।

पीडितले दिएको उजुरीमा ८ वर्षदेखि शाहले आफुमाथि यौन शोषणमा गरेको उल्लेख छ। ‘मेरो सोझोपन, अपरिपक्क उमेर, मेरो घर गएर बाबा दाइहरूसँग पनि तपाईंको छोरीलाई नेता बनाउँछु भन्ने, अनेक सपना देखाउने हुदाँ मलाई साँच्चिकै अभिभावक होला भन्ने लागेर मैले विश्वास गरेँ,’ उनले उजुरीमा लेखेकी छन्, ‘जसका कारण मलाई अनेक प्रलोभनमा, दबाब पारेर ४ वर्षसम्म बिएड अध्ययनको सिलसिलामा सुर्खेतमा उनकै सल्लाहले गएँ। उनले आफ्नो योजनामा त्यहाँ विभिन्न डर–त्रास, धम्कीका साथ राखे।’

सुर्खेतमा रहँदा पटक–पटक यौन शोषण हिंसा, शारीरिक तथा मानसिक रूपमा तनाब दिएको उनले उल्लेख गरेकी छिन्। केही समयअघि अध्यक्ष शाह र आफू रहेको एक भिडियो पनि बाहिरिएको र त्यसपछि निकै मानसिक तनाब झेल्नुपरेको उनले बताएकी छिन्।

विगत ३ वर्षदेखि यामलाल कँडेललगायत सल्यानका पार्टीका नेताहरूलाई भन्दा पनि सहयोग नपाएको उनले गुनासो गरेकी छिन्। ‘म विवाहित नारी न घर न माइत जाने अवस्था छ। यो विषय छानबिन गरी निज नैतिक पतन नेता गुलाबजंग शाहलाई कारबाही गरी सल्यान जिल्ला तथा कर्णाली प्रदेशमा एमालेलाई बलियो बनाउनसमेत म अनुरोध गर्छु’ उनले उजुरीमा लेखेकी छिन्–‘पार्टीको प्रमुख भएर उसले गरेका अन्याय अत्याचारहरूको स्वतन्त्र छानबिन गरी कडाभन्दा कडा कारबाही गर्न अनुरोध गर्छु।’

शाहले भने घटनाका सन्दर्भमा पार्टी अनुशासन आयोगले सोधपुछ गरेको स्वीकार गर्दै पुरानो भिडियोलाई लिएर इस्यु (मुद्दा) बनाइएको दाबी गरे। एमाले अनुशासन आयोग प्रमुख केशव बडालले पनि शाहबारे कार्यदल बनाएर छानबिन भइरहेको बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट