‘सन्दीप विरुद्ध पुनरावेदन नगर्दिनु’ भन्दै उच्च सरकारी वकिल कार्यालयमा गौशाला–२६ को निवेदन

काठमाण्डौं– क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको मुद्दा हालेकी गौशाला २६ले उच्च अदालत पाटनको फैसला विरुद्ध भने सर्वोच्चमा पुनरावेदन नगर्न उच्च सरकारी वकिल कार्यालय पाटनमा निवेदन दिएकी छिन्।

हस्तलिखित निवेदन लिएर बिहिबार आफै उच्च सरकारी वकिल कार्यालय पुगेकी उनको निवेदन दर्ता गरेर राखिएको छ। उनले मुद्दाका कारण मानसिक तनावमा परेको र सामाजिक रूपमा समेत अप्ठ्यारो निवेदनमा उल्लेख गरेकी छिन्।

उनले मुद्दालाई अहिलेकै रूपमा स्वीकार गरी अब विवाद भन्दा परै रहेर बस्न चाहेको र अध्ययनलाई अगाडि बढाउन चाहेको जनाएकी छिन्। समाजबाट धम्की आउने क्रम जारी रहेको र मुद्दाको रूपमा अरु धाउन सक्ने अवस्था नरहेको निवेदनमा पनि निवेदनमा उल्लेख गरेकी छिन्।

पीडितको निवेदनपछि अवसर्वोच्चमा पुनरावेदन गर्ने कि नगर्ने भन्नेबारे उच्च सरकारी वकिलको कार्यालयले कुनै निर्णय गरेको छैन। गौशाला २६को जाहेरीपछि दर्ता भएको मुद्दामा उच्च अदालत पाटनले लामिछानेलाई सफाइ दिने फैसला सुनाएको थियो।

उक्त फैसलाको पूर्णपाठ तयार भएर मंगलबारमात्र उच्च सरकारी वकिल कार्यालयमा पुगेको छ। भर्खर मिसिल र फैसलाको पूर्णपाठ प्राप्त भएकाले केही दिन अध्ययन गरेर मात्र पुनरावेदन बारे निर्णय लिइने उच्च सरकारी वकिल कार्यालयका प्रमुख शङ्कर खत्रीले बताएका छन्।

उच्च अदालत पाटनले पीडितको उमेर बालिग रहेको, जबरजस्ती भएको पुष्टि हुन नसकेको र पीडितकै जबरजस्तीका कारण लामिछानेले घुमाउन लगेको आधारहरू प्रश्तुत गर्दै मुद्दामा सफाइ दिएको थियो।

उच्चको फैसलाको पूर्णपाठमा भनिएको छ–‘प्रतिवादीसँग पीडितले आर्थिक संरक्षण मागेको, प्रतिवादीले पछि सकेको सहयोग गर्छु भनेको तर कुनै सहयोग नगरी प्रतिवादी केन्यातर्फ गएको घटनाक्रमले रिसको आवेगमा प्रतिवादी उपर यस्तो जघन्य कसुरमा जाहेरी दिएको होला भनी यो तथ्यलाई ठाडै इन्कार गर्न सकिने अवस्था पनि देखिँदैन।’

मिसिलमा संलग्न सीसीटीभी फुटेजको स्क्रिप्ट समेतका प्रमाणबाट अभियोग दाबी शंकारहित तवरले पुष्टि नभएको, पीडित र प्रतिवादीबिच होस्टल नजिकबाट प्रतिवादीको गाडीमा बसी नगरकोट गएको, रातको समयमा काठमाडौँ होटल इनमा बसी भोलिपल्ट प्रतिवादीले पीडितलाई निजको होस्टलमा पु¥याउँदाका अवस्थासम्मका उल्लिखित घटनाक्रमलाई विश्लेषण गरी हेर्दा जबरजस्ती करणीको कसुर भएको मान्न मिल्ने अवस्था नदेखिएको अदालतको ठहर छ।

पीडित आफैँले प्रतिवादीलाई फ्रेण्ड रिक्वेस्ट पठाएको, प्रतिवादीलाई स्न्याप च्याटमार्फत फोटो पठाउने गरेको, प्रतिवादी आफूले क्रिकेट खेल्न विदेश गई दुई महिनापछि फर्केर आएर भेट्ने भन्दा पीडितले मलाई सहयोग गर्नु पर्‍यो भनेर तुरुन्तै भेट्न चाहेको विषयलाई पनि अदालतले जबरजस्ती करणीको कसुर प्रमाणित नहुने आधारका रूपमा व्याख्या गरेको छ।

सन्दीप लामिछानेले गाडी लिएर आउँदा स्वतःस्फूर्त रूपमा पीडित गाडीमा गई बसेको, नगरकोट जाँदा समेत पीडितले कुनै प्रतिकार नगरेको र प्रतिवादीले नगरकोटबाट पीडितलाई ‘चाँडै जाउँ, तिम्रो होस्टेल बन्द हुन्छ’ भन्दा ‘होस्टेल जुनसुकै बखत खुला हुन्छ’ भनी प्रतिवादीलाई विश्वास दिलाएको र नगरकोटको होटल प्रतिवादी (सन्दीप)ले बुक गराएको भन्ने तथ्य पुष्टि नभएको जस्ता आधार पनि अदालतले ब्याख्या गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट