दुर्घटना भएको विमानमा १७ जनालाई बिना रेकर्ड चढाइएको खुलासा, थिएन वोर्डिङ पास

काठमाण्डौं– मर्मतपछिको पूर्ण परीक्षण ‘सी–चेक’ का लागि काठमाडौंबाट पोखराका जान उडेको सौर्य एयरलाइन्सको ९ एन–एएमई/सीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान ११ः११ मिनेटमा दुर्घटना हुँदा १८ जनाको ज्यान गयो।

रनवे ०२ तर्फबाट उडेको जहाज पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको थियो। दुर्घटनाको कारण खुलेको छैन। सरकारको बुधबारै बसेको आकस्मिक वैठकले जहाज दुर्घटनाको छानबिन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशक रतीशचन्द्रलाल सुमनको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ।

समितिमा नेपाल एयरलाइन्सका क्याप्टेन दिपु ज्वारचन, श्री एयरलाइन्सका इन्जिनियर सञ्जय अधिकारी, पुल्चोक इन्जिनियरिङ क्याम्पसका सहप्राध्यापक सुदीप भट्टराई र पर्यटन मन्त्रालयका प्राविधिक अधिकृत मुकेश डंगोल रहेका छन्। समितिलाई ४५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ।

दुर्घटनाको कारण छानविन समितिले खोज्ने छ। तर, जहाजमा एयरलाईन्सले प्राविधिक भनेर लैजान लागेका कसैसँग पनि बोर्डिङ पास नभएको खुलेको छ। त्रिभुवन विमानस्थल स्रोतका अनुसार विमान दुर्घटनापछि दुर्घटनामा को–को परे ? भनेर पत्ता लगाउन नै झण्डै १ घण्टा लागेको थियो। किनकी उनिहरुको उडान अगाडि सुरक्षा जाँच भएन। उनीहरुको नाम उडान रेकर्डमा समेत राखिएको थिएन।

प्राधिकरणले पोखरा जानका लागि उडान अनुमती त दियो, तर जहाजमा यात्रा गर्ने यात्रुका विषयमा कुनै पनि संयन्त्रलाई जानकारी गराईएन। विमानस्थलस्थित सुरक्षा स्रोतका अनुसार कम्पनीले सवैलाई विमानस्थल भित्रै रहेको कार्यालयबाट सिधै लगेर जहाजमा राखेको थियो।

जवकी, विमानस्थल सुरक्षा प्रणालीमा चालक दलका सदस्यहरुको समेत सुरक्षा जाँच अनिवार्य भनिएको छ। विमानस्थलमा रहेका एक सुरक्षा अधिकृत भन्छन्– ‘जहाज कम्पनीले आफनो प्राविधिक लैजान सक्छ। तर, विमानस्थलको सुरक्षा प्रणाली कसैले पनि उलंघन गर्न पाउँदैन।’

चालक दलका सदस्य वाहेक जहाजमा सवार १७ जनाको वोर्डिङ पास जारी नहुनु र यात्रा गर्नेको सुरक्षा जाँच नै नगर्नुले प्राधिकरणमाथि गम्भिर प्रश्न उठेको छ। कम्पनीले जहाजमा यात्रा गरिरहेका सवै जना कर्मचारी भएको दाबी गरेको थियो। तर, जहाज दुर्घटनामा ४ वर्षीय नाबालकको समेत ज्यान गएको छ।

यो प्रकरणले प्राधिकरणको खेलाँची कुन हदसम्म छ भन्ने देखाउने विमानस्थल सुरक्षा स्रोत बताउँछ। ‘कुनै सुरक्षा जाँच नगरी कर्मचारीको भेषमा अन्य कुनै ब्यक्ति छिराएको भए के हुन्थ्यो ?’ एक सुरक्षा अधिकृतले सम्भावित सुरक्षा अवस्थाको आँकलन गर्दै प्रतिप्रश्न गरे।

एकातर्फ, जहाज कम्पनीले आफनो हवाई सुरक्षामा प्रोटोकल उलंघन गरेको त देखियो नै, अर्कोतर्फ यात्रुको विवरण नै नराखी यात्रा गर्न दिनुले क्यान र विमानस्थल ब्यवस्थापन केन्द्रसमेत छानविन र कारवाहीको भागिदार भएको छ। उद्धारमा तत्काल दमकल जान नसकेको वहाना होस वा अन्य कुनै कारण होस।

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा पनि क्यानको नेतृत्वमाथि गम्भिर प्रश्न उठेको छ। दुर्घटनापछि समितिले बिहीबार प्राधिकरणका पदाधिकारीहरुलाई बोलाएर छलफल गरेको थियो। जहाज दुर्घटनामा प्राधिकरणको गम्भीर गल्ती भएको भन्दै विस्तृत परीक्षण र मर्मत गर्न पोखरा लान लागिएको विमानमा गैरप्राविधिक र बालकलाई किन चढ्न दिइयो ? भन्दै सांसदहरुले प्रश्न गरे।

उनीहरुले प्राधिकरणको गम्भीर गल्तीका कारण जहाज दुर्घटनामा १८ जनाको ज्यान गएको भन्दै महानिर्देशक प्रदीपराज अधिकारीलाई निलम्बन गर्न सरकारलाई सुझाव दिएका छन्। अनधिकृत व्यक्तिलाई प्रवेश गराएको र विमानस्थल क्षेत्रभित्रै ठुलो दुर्घटना हुँदा पनि उद्धार संयन्त्र प्रभावकारी बनाउन नसकेको लगायतका विषयमा संसदहरुले आलोचना गरेका थिए। समिति सदस्य एवं सांसद शिशिर खनालले विमान दुर्घटनाको सत्यतथ्य विवरण बाहिर नआउँदासम्म महानिर्देशकलाई निलम्बन गर्नुपर्ने माग गरे।

सांसदहरुले अध्यादेश ल्याएर भए पनि वायुसेवा कम्पनीहरुको नियमनकारी निकाय छुट्टै बनाउन सरकारलाई सुझाव पनि दिएका छन्। प्राधिकरणका पदाधिकारीले भने टालटुले जवाफ दिएर जिम्मेवारीबाट पन्छिन खोजेका छन्। सांसदहरुले र्‍याखर्‍याख्ती पारेपछि प्राधिकरणका महानिर्देशक अधिकारीले ‘परीक्षणका लागि लैजान लागिएको जहाजमा अन्य व्यक्ति चढाउन नहुने’ भन्ने कुनै कानुन नभएको दावी गरे।

यता, गृहमन्त्रालय स्रोतले भने आफनो नियन्त्रणमा राख्नु पर्ने र ब्यवस्थित गर्ने निकायले मनपर्दी गरेको र हवाई सुरक्षामा देखिएको लापर्वाहीले बुधबारको दुखद घट्ना भएको जनाएको छ। प्राविधिक भनेर पारिवारीक सदस्य पठाउने विमानस्थलको सुरक्षा प्रणालीलाई अटेरी गर्ने प्राधिकरणका कर्मचारीमाथि मुद्दा चलाउनु पर्ने दबाब बढेको गृह स्रोतले जनाएको छ। गृहका एक अधिकृत भन्छन्–‘विमानस्थलको सुरक्षा प्रणाली पालना नगर्ने कम्पनी र नगराउने सरकारी पदाधिकारीलाई कारवाही नगरे यस्ता घट्ना नदोरिएलान भन्न सक्ने अवस्था छैन।’

बुधबार विहान ११ः११ बजे धावन मार्ग छोडेको विमान २० सेकेन्ड नहुँदा नियन्त्रण गुमाएर पुनः जमिनमै बजारिएको थियो। १९ जना सवार विमान दुर्घटनामा चालक ३७ वर्षीय मनिषरत्न शाक्य मात्र जिवित छन्। अन्य १८ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा को–पाइलट सुशान्त कटुवाल, इन्जिनियर अश्विन निरौला, सेफ्टी चिफ सागर आचार्य, अमितमान महर्जन, दिलीप बर्मा, मनुराज शर्मा, उनकी पत्नि प्रिजा खतिवडा, छोरा ४ वर्षीय अधिराज शर्मा, सुदीपलाल जोशी, सर्वेस मरासैनी, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, उद्धव पुरी, यज्ञप्रसाद पौडल, सन्तोष महतो, पुण्यरत्न शाही र अरेफ रेडाको मृत्यु भएको हो।

रेडा यमनी नागरिक हुन् भने प्रिजा खतिवडा र अधिराज शर्मा प्राविधिक मनुराज शर्माका पत्नि र छोरा हुन।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट