पाइलट बनेर विवाह गर्ने कोपाईलट सुशान्तको योजना सौर्य एयरको विमानसँगै खरानी

विराटनगर– सौर्य एयरलाईन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका को–पाइलट २७ वर्षीय सुशान्त कटुवालको क्याप्टेन भएर विवाह गर्ने योजना अधुरै रहेको छ। २ वर्षअघि मात्रै सौर्य एयरमा को–पाइलटको जिम्मेवारी पाएका उनी परिवारको एक्लो सन्तान हुन्।

पूर्वजिल्ला शिक्षा अधिकारी ओमबहादुर कटुवालका छोरा सुशान्तको पुर्ख्यौली घर ओखलढुङ्गा भए पनि उनको परिवार २ वर्ष अघिसम्म विराटनगर महानगरपालिका–३, आयल निगम पूर्व उदय मार्गमा बस्दै आएको थियो।

४ वर्षअघि क्यानाडाबाट पाइलटको कोर्स पूरा गरेर नेपाल फर्केका सुशान्त कोपाइलट भएपछि बुबाआमा पनि छोरासँगै बस्न भक्तपुर गएका थिए। बुबाआमा भक्तपुर सरेपछि विराटनगरको घर बन्द अवस्थामा छ। शुसान्तको परिवार अहिले भक्तपुरको राधे राधेमा कोठा भाडा लिएर बस्दै आएको छ।

सुशान्तकी बहिनी अस्ट्रेलियामा छिन्। सेवाबाट निवृत्त भइसकेका ओमबहादुर अहिले छोरीलाई भेट्न पत्निसहित अस्ट्रेलिया गएका छन्। सोही समयमा जहाज दुर्घटनामा सुशान्त वितेको विराटनगर महानगरपालिका– ३ का वडाध्यक्ष वासु बस्नेतले बताए।

सुशान्त क्याप्टेन हुने लाइनमा थिए। क्याप्टेन हुने वित्तिकै विवाह गर्ने योजना उनको थियो। विमान दुर्घटनामा सुशान्तको निधनले कटुवाल परिवारमा ठूलो वज्रपात परेको वस्नेतको भनाई छ। छोराको निधनले कटुवाल परिवारमा ठूलो शोक परेको उनले बताए।

सौर्य एयरलाईन्सको ९–एनए एमईको विमान बुधबार विहान ११ः११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमै दुर्घटनामा परेको थियो। जसमा विराटनगरका मात्रै तीन जनासहित १८ जनाको ज्यान गएको छ।

दुर्घटनामा परेको विमानमा सवार १९ जना मध्ये पाईलट ३७ वर्षीय मनिषरत्न शाक्य मात्रै जिवित छन्। उनको सिनामंगलस्थित काठमाण्डौँ मेडिकल कलेजमा उपचार भईरहेको छ। स्वास्थ्य अवस्था ‘खतरामुक्त’ छ। बोल्न र झोलिलो पदार्थ खान सक्ने भएका छन्।

अस्पतालका एक अधिकारीका अनुसार शाक्यको शरीरमा जलन नभए पनि भित्री चोटहरू देखिएका छन्। उनको ढाडको हड्डी दुई ठाउँमा भाँचिएको छ। त्यसको अप्रेसन पछि गर्नुपर्ने जनाईएको छ। करङका पनि तीन वटा हड्डी भाँचिएको जनाईएको छ। टाउकोमा पनि गम्भिर चोट रहेको अस्पतालले जनाएको छ।

अस्पतालको न्युरो सर्जरी आइसियुमा राखिएका शाक्यलाई हाल कसैलाई भेट्न दिइएको छैन। शाक्यका श्रीमती, आमा र बुवा हिजो देखि नै अस्पताल रहेपनि भेट गर्न नपाएको जनाईएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट