सौर्य एयरलाईन्सको गम्भिर गल्तीले प्रिजा र अधिराजको ज्यान गयो, असम्वन्धित ब्यक्ति कसरी पुगे विमानमा ?

काठमाण्डौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार भएको सौर्य एयरलाईन्सको विमान दुर्घटनामा १८ जनाको ज्यान गयो। दुर्घटनामा असम्वन्धित ब्यक्तिले पनि ज्यान गुमाए।

दुर्घटनामा ज्यान गुमाएका प्रिजा खतिवडा र उनका नाबालक छोरा अधिराज शर्मा नियमतः त्यो दुर्घटनामा नपर्नु पर्ने हो। किनकी सौर्य एयरलाईन्सको ‘९एन–एएमई’ को बुधबारको उडान कम्पनीका चालक दल र प्राविधिकका लागि मात्रै थियो।

प्रिजा र अधिराज सौर्यका कर्मचारी होईन्। प्रिजा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिवको सचिवालयमा कार्यरत सहायक कम्प्युटर अपरेटर (सुब्बा सरह) हुन भने ४ वर्षीय अधिराज उनकै छोरा हुन।

जानकारी अनुसार सौर्य एयरलाईन्स र नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले समयमै ध्यान दिएको भए कमसेकम यी दुई जनाले अनाहकमा ज्यान गुमाउनु पर्ने थिएन। प्राधिकरणका अनुसार सौर्य एयरलाइन्सको विमानले पोखरामा ‘सी–चेक’ (पूर्ण परीक्षण तथा मर्मत) मा जान ‘फ्री फ्लाइट’ गर्ने अनुमति लिएको थियो।

नियमतः यस्तो उडानमा चालकदल र इन्जिनियर/प्राविधिक कर्मचारी बाहेक अरू यात्रु लान पाइँदैन। उड्डयन प्राधिकरण सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार पनि फ्रि फ्लाईटमा जहाज उडाउने क्याप्टेन र कोपाइलट (चालकदल) तथा आवश्यक (२/३ जना) प्राविधिक कर्मचारी (इन्जिनियर) मात्र जान पाउने ब्यवस्था छ।

तर, सौर्यको यो जहाजमा कुनै प्राविधिक समस्या नभएकाले कसैले त्यो नियमतर्फ ध्यानै दिएन। यो जहाजको उडानयोग्य अवधि सन् २०२५ सम्म थियो र उडान गर्ने समय १ सय १९ घण्टा बाँकी थियो। त्यसमाथि सौर्य एयरलाइन्स आफ्नो जहाज आफैं मर्मत गर्ने ‘एमआरओ’ (‘मेन्टिनेन्स रिपेयर ओभरहौल) अनुमति प्राप्त कम्पनी हो।

त्यसैले विमान कम्पनीका कर्मचारीले परिवारलाई पनि घुमाउन लान खोज्दा प्रिजा र अधिराजको ज्यान गएको पाईएको छ। स्रोतका अनुसार सौर्य एयरलाईन्सका कम्युनिकेसन अधिकृत मनुराज शर्माले बिहान कार्यालय पुगेपछि पत्नि प्रिजालाई फोन गरेर सौर्यको जहाज विस्तृत परीक्षण र मर्मतका लागि पोखरा जाने र परिवारलाई लान पाउने सुविधा रहेकाले छोरासहित एयरपोर्ट आउन भनेका थिए।

त्यसपछि प्रिजा बालकोटमा रहेको कोठामा पुगेर चाइल्ड केयर सेन्टरमा रहेका छोरा अधिराजसमेत विमानस्थल पुगेकी थिईन। प्रिजाका बुबा प्रकाश खतिवडाले मोटरसाइकलमा छोरी र नातिलाई एयरपोर्ट पुर्‍याई दिए। खतिवडा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हुन।

एकीकृत समाजवादीका प्रचार विभाग सचिव रहेका खतिवडा छोरी र नातीलाई एयरपोर्टमा छोडेर पार्टी कार्यालय पुग्न नपाउँदै सौर्यको विमान दुर्घटना भएको खबर सुने। बिहान ११ बजेर ११ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको विमान धर्ती छोडेको २० सेकेन्डमा फेरी धर्तीमै बजारियो।

दुर्घटनामा प्रिजा र अधिराजसहित १८ जनाको ज्यान गयो। प्रिजा र मनुराजको ६ वर्षअघि विवाह भएको थियो। छोरी, ज्वाईँ र नाती एकै पटक गुमाउँनु पर्दा खतिवडा परिवारमा अहिले वज्रपात परेको छ।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट