पूर्वराज्यमन्त्री रायको हत्या सहयोगीबाटै, पोलिग्राफ परिक्षणबाट खुल्यो रहस्य

काठमाण्डौँ– सर्लाहीमा २ दिनअघि भएको पूर्व भूमिसुधार राज्यमन्त्री ८० वर्षीय रामचन्द्र राय यादवको हत्या उनकै सहयोगीले गरेको खुलासा भएको छ। पोलिग्राफ परिक्षण गरेर प्रहरीले रायको हत्यारा पत्ता लगाएको हो।

पूर्वराज्यमन्त्री रायको हत्या उनकै घरमा सहयोगीको रूपमा कार्यरत २१ वर्षीय रामउजेन रायले गरेको खुलेको प्रहरीले जनाएको छ। आरोपितले अपराध स्वीकारेका छन।

पूर्वराज्यमन्त्री रायको ६ साउनको राती हत्या भएको थियो। ७ साउनको विहानका राती चन्द्रपुर गाउँपालिका–१, रतनपुरस्थित आफ्नै १ तले घरमा उनलाई मृत अवस्थामा भेटिएको थियो। काम विगारेको भन्दै गाली गरेपछि आवेशमा आएर फर्सा (बन्चरो आकारको हतियार) ले हिर्काएर पूर्वमन्त्रीको हत्या गरेको आरोपितले बताएका छन्।

हत्यामा प्रयोग भएको फर्सा प्रहरीले घरबाट ५० मिटर टाढा बाँझघारीबाट सोही दिन बरामद गरेको थियो। पूर्वराज्यमन्त्री रायको टाउकाको बायाँतर्फको भागमा र निधारमा ठूलो चोट थियो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका एक जना अधिकृतका अनुसार पोलिग्राफ परीक्षण क्रममा सहयोगी रामउजेन रायले झुटो बोलेको देखिएको थियो। त्यसपछि सोधपुछ गर्दा उनले नै हत्या गरेको खुलेको अनुशन्धानमा संलग्न एक प्रहरीले बताए।

पोलिग्राफ परिक्षण अघि उनले राति घरमा ३ जना मानिसहरू आएको र पूर्वराज्यमन्त्रीको हत्यापछि उनीहरु फरार भएको बताउँदै आएका थिए। ‘हाम्रो जग्गा विवाद कहिले मिलाई दिने ?’ भन्दै आएका उनीहरुलाई आफुले नचिनेको उनको भनाई थियो। यद्यपी पूर्वराज्यमन्त्री रायको आग्रह अनुसार उनीहरुलाई आफुले पानी खान दिएको र सँगै सुत्ने बताएपछि ओछ्यान पनि मिलाई दिएको उनले वताएका थिए।

त्यसपछि आफु छतमा सुन्न गएको उनले प्रहरीलाई बताएका थिए। राती पिसाव फेर्न उठ्दा पूर्वराज्यमन्त्रीको कोठाको ढोका खुल्लै देखेपछि लाईट बालेर हेर्दा रगताम्मे अवस्थामा मृत फेला परेको उनको बयान थियो।

प्रहरीका अनुसार रतनपुरमा रामचन्द्रका ३ वटा घर छन्। तीमध्ये एउटा घरमा सहयोगी रामउजेन उनीसँगै बस्दै आएका थिए। उनी रामचन्द्रका नातेदार समेत हुन। राय ०५४ सालमा सूर्यबहादुर थापाको प्रधानमन्त्रीकालमा भूमिसुधार राज्यमन्त्री बनेका थिए। उनी राप्रपाको गत महाधिवेशनमा उपाध्यक्ष उम्मेदवारसमेत थिए।

मृतक राय तीन दाजुमध्ये माइलो हुन। उनका श्रीमती २ छोरा र ५ छोरी छन्। उनको परिवार काठमाण्डौं बस्दै आएको छ। मलंगवा नगरपालिकाका मेयर नागेन्द्र प्रसाद रायका दाजुसमेत रहेका रामचन्द्र भने धान रोपाइँको लागि एक साताअघि चन्द्रनगरस्थित घरमा आएको जनाईएको छ।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट