सौर्यको विमान दुर्घटनामा कसरी पर्यो पत्रकार महासंघका पूर्व अध्यक्ष खतिवडाको परिवार ?

काठमाण्डौं– नेपाल पत्रकार महासंघ सप्तरीका पूर्वअध्यक्ष प्रकाश खतिवडालाई वज्रपात परेको छ। आज भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा उनका छोरी, ज्वाईँ र नाबालक नातीको ज्यान गयो।

मर्मतपछिको पूर्ण परीक्षण ‘सी–चेक’ का लागि पोखरा जाने क्रममा बुधबार बिहान ११ बजेर ११ मिनेटमा सौर्य एयरलाइन्सको सीआरजे ७–९ एनएएमई जहाज उडेको २० सेकेन्डमै त्रिभुवन विमानस्थल छेउमै दुर्घटना भएको थियो।

दुर्घटनामा जहाजमा सवार खतिवडाकी जेठी छोरी प्रिजा खतिवडा, ज्वाईँ मनुराज शर्मा र नाती अधिराज शर्मासहित १८ जनाको मृत्यु भएको छ। मनुराज सौर्य एयरलाईन्सका प्राविधिक हुन। प्रिजा उर्जा मन्त्रालयमा कम्प्युटर अपरेटरको रुपमा कार्यरत थिईन।

जानकारी अनुसार एयरलाइन्सले सबैलाई ‘फ्री फ्लाइट’मा लगेको थियो। नागरिक उड्ययन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार फ्री फ्लाइटमा उक्त उडानका लागि आवश्यक प्राविधिक कर्मचारी तथा पाइलट, को–पाइलट मात्र जान पाउँछन्।

तर सौर्यको जहाज दुर्घटनामा कर्मचारीका परिवारसमेत परे। स्रोतका अनुसार प्राविधिक मनुराज पोखरा जाने भएपछि श्रीमती प्रिजालाई अफिसबाट र छोरा अधिराजलाई विद्यालयबाट बोलाएर घुम्न पोखरा लग्दैथिए।

प्रिजा र अधिराज विमानका कर्मचारी होईनन्। उनीहरु कसरी यो दुर्घटनामा परे भन्ने विषयमा अनुशन्धान हुने जनाईएको छ। तर, एयरलाईन्सले भने मृत सवैलाई सौर्यको कर्मचारी उल्लेख गरेको छ।

उक्त जहाजमा सवार १९ जनामध्ये पाइलट मनिषरत्न शाक्य बाँचेका छन्। उनलाई उपचारका लागि काठमाडौँ मेडिकल कलेजमा भर्ना गरिएको छ। पाइलट शाक्यको मेरुदण्ड भाँचिएको र अनुहारमा गहिरो चोट लागेको जनाईएको छ।

जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने बित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनापछि जहाजमा आगो लागेको र सो क्रममा १८ जना यात्रुको मृत्यु भएको प्राधिकरणले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट