निर्मला कुर्मीको अपहरण र हत्याका आरोपी बादशाहलाई कांग्रेसले कसरी बनाउँदैछ मन्त्री ?

काठमाण्डौं– बाँकेको नेपालगन्ज–१७, परस्पुरकी निर्मलादेवी कुर्मीलाई अपहरण गरी बेपत्ता बनाएको आरोप लागेका नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्य बादशाह कुर्मी लुम्विनी प्रदेशको मन्त्री बन्ने तयारीमा छन्।

निर्मलालाई बादशाहकै निर्देशनमा बेपत्ता पारिएको उनका आफन्त र अधिकारकर्मीहरूले बताउँदै आएका छन् भने गृहमन्त्रालयको एक प्रतिवेदनले पनि निर्मला बेपत्ता प्रकरणमा बादशाहको संलग्नता देखिएको औंल्याएको छ।

निर्मला ०७५ सालमा एकाएक हराएकी हराएकी थिईन। निर्मलाको न्यायका लागि अधिकारकर्मी रुवी खना लगायतका महिलाहरूले अभियान चलाए। त्यसपछि गृहमन्त्रालयले मन्त्रालयका तत्कालीन सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा ‘छानबिन समिति’ बनायो। समितिले १४ कात्तिक ०७८ मा तत्कालीन गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएको थियो।

प्रतिवेदनमा निर्मला कुर्मीलाई बेपत्ता पार्ने काममा कांग्रेस नेता बादशाह कुर्मी लगायत कुँवर बब्बन सिंह, धिरेन्द्र सिंह, अम्मरलाल कुर्मी, भारतीय नागरिक मुनिम कुर्मी लगायतका ८ जनाको संलग्नता रहेको उल्लेख छ। निर्मलाको सम्पत्ति हत्याउने नियतले सम्पूर्ण कागजातहरू नागरिकता, लालपुर्जा, नाता कायमको कागज जबरजस्ती खोसेर लगेको र अपहरण गरी वेपत्ता पारेको प्रतिवेदनले औंल्याएको छ।

सम्पूर्ण कागजात खोसेर लगेपछि निर्मलाले पटकपटक छलफल गर्न खोजेको तर उनीहरूले निर्मलाको कुनै पनि कागजात नदिने, घरमा बस्न पनि नदिने र उल्टै धम्की दिने गरेको पनि प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनले आरोपीलाई अविलम्ब पक्राउ गर्न सुझावसमेत दिएको छ। तर, उनीहरुलाई कारवाही भएन। त्यसपछि निर्मलाको न्याय अभियानमा लागेका महिलाहरु पटकपटक नेपालगञ्जबाट पैदलै काठमाडौं पुगे। त्यहाँ आमरण अनसनसमेत बसे। त्यसैबेला तत्कालीन गृहमन्त्री रवि लामिछानेले छानविन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने लिखित सहमति गरेका थिए। तर, उनी पहुँचका आधारमा कारबाहीबाट बच्दै आएका छन्।

पछिल्लो पटक उनी मन्त्री नै बन्न लागेको खुलेपछि पीडितहरु आक्रोशित छन्। यो प्रकरणले न्यायको सट्टा आहतको महसुस गरेको अधिकारकर्मी खानले बताईन।

संविधान सभा सदस्यसमेत रहेका कुर्मी ०७९ सालको प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसबाट बाँके क्षेत्र नम्बर ३ (२) बाट निर्वाचित भएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट