मन्त्रालयका सचिवलाई शौचालयमा थुनेर कुट्ने पूर्वमुख्यमन्त्रीको धम्की, सचिवले गुहारे प्रशासन

विराटनगर– कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा कांग्रेस सांसद केदार कार्कीले सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईलाई शौचालयमा थुनेर कुट्ने धम्की दिएका छन्।

फोनमार्फत कुटिपिट गरेर शौचालयमा थुन्ने धम्की दिएको भन्दै पूर्वमुख्यमन्त्रीबाट जीउ धनको रक्षा र शान्ति सुरक्षाको माग गर्दै सचिव भट्टराईले प्रशासन गुहारेपछि यो विषय सतहमा आएको हो।

विरोट गोल्ड कपको विषयलाई लिएर पूर्वमुख्यमन्त्री कार्कीले तथानाम गालीगलौज गरेको भट्टराईले प्रशासनमा दिएको निवेदनमा उल्लेख छ। ‘मात्रिका यादवले सचिवलाई कुटेर शौचालयमा थुनेको याद होला, म पनि तलाईं मन्त्रालयमा आएर कुट्छु, शौचालयमा थुन्छु’ भन्दै गालीगलौज गरेको सचिव भट्टराईको दाबी छ।

उनले सोमबार अपरान्ह ४ः५३ बजे फोन गरेको कल डिटेलका आधारमा अनुसन्धान गरी कार्कीलाई कारवाही गर्न माग गरेका छन्। भट्टराईले सो निवेदनको बोधार्थ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशीमा पनि दिएका छन्।

भट्टराईका अनुसार कार्कीले केही खेलकुद प्रतियोगिताको बजेट भुक्तानी गर्न दबाब दिंदै आएका थिए। तर, मन्त्रालयले विभिन्न कारण देखाएर ढिलाइ गरेपछि कार्कीले फोन गरेर धम्क्याएको जनाईएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट