मृत्यु संस्कारमा सहभागि भएर घर पुगेको ४ घण्टा नपुग्दै पूर्वराज्यमन्त्रीको हत्या, को हो हत्यारा ?

राजविराज– काठमाण्डौंमा स्थायी बसोबास भएपनि धान रोपाईका लागि एक सातादेखि सर्लाहीको चन्द्रनगर गाउँपालिका–१, रतनपुरमा रहेका पूर्वभूमि व्यवस्था राज्यमन्त्री रामचन्द्र राय यादवको आईतबार राती (६ असार) राती हत्या भयो।

हत्या कसले र किन गर्यो भन्ने एकिन भएको छैन। तर, राती जग्गा विवादको कुरा लिएर तीन जना ब्यक्ति आएको र सँगै सुतेको जानकारीका आधारमा तीनै ब्यक्तिले पूर्वराज्यमन्त्री रायको हत्या गरेको आशंका प्रहरीको छ।

प्रहरीको हालसम्मको अनुशन्धान अनुसार ८० वर्षीय राज आईतबार चन्द्रपुरस्थित इन्द्र ठाकुरको घरमा आमाको मृत्यु संस्कारमा सहभागी भई राति ८ बजे आफ्नो घर पुगेका थिए। घरमा कामदार २१ वर्षीय रामउदेन राय र उनीमात्रै वस्दै आएका थिए। उनी घर पुगेको करिब १ घण्टापछि राति साढे ९ बजे ३ जना ब्यक्ति पुगेको खुलेको छ।

पूर्वराज्यमन्त्रीको हत्यापछि ती ब्यक्ति फरार रहेकाले उनीहरुको संलग्नता हुनसक्ने जिल्ला प्रहरी कार्यालय सर्लाहीका एक प्रहरी अधिकारीले बताए। रामउदेनका अनुसार राति घरमा आएकाहरुले ‘हाम्रो जग्गा विवाद कहिले मिलाइदिने ?’ भन्दै रायलाई सोधेका थिए। त्यसैलाई आधार मानेर प्रहरी ती व्यक्तिको पहिचान गर्नतिर लागेको छ। उनीहरुलाई आफुले पानी दिएको र सुत्नका लागि ओछ्यानसमेत मिलाई दिएको रामउदेनको भनाई छ।

पूर्वराज्यमन्त्री रायले रामउदेनलाई भने छतमा सुत्न पठाएका थिए। राति करिब सवा १२ बजे पिसाब गर्न उठ्दा ढोका खुल्लै देखेपछि टर्च बालेर हेर्दा ओछ्यानमै रक्ताम्य अवस्थामा देखेको उनले बताएका छन्। त्यसपछि घट्नाका बारेमा पहिला आफ्ना बाबुलाई फोन गरेर जानकारी गराएको राम उदेनले प्रहरीलाई बताएका छन्।

हत्याको खबर प्रहरीले राति साढे १२ बजे पाएको थियो। प्रहरीले राति नै तालिम प्राप्त कुकुर झिकाएर अनुसन्धान सुरु गर्यो। कुकुरले केही संकेत गरेको र घटनास्थल नजिकै हत्यामा प्रयोग भएको फर्सा भनिने बन्चरो आकारको हतियार समेत फेला परेको सर्लाही प्रहरीका डीएसपी दीपक श्रेष्ठले बताए। रायको घरबाट उत्तरपश्चिम तर्फको करिब ५० मिटर टाढा रहेको बाँसको झाङमा फर्सा भेटिएको डीएसपी श्रेष्ठले बताए।

पूर्वमन्त्री रायको टाउकाको बायाँतर्फको भागमा र निधारमा ठूलो चोट छ। ८० वर्षीय राय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ३० वर्षअघि भूमि व्यवस्था राज्यमन्त्री भएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट