पूर्व राज्यमन्त्रीको हत्या आरोपमा घरका कामदार युवक पक्राउ

जनकपुर– पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र राय यादवको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

सर्लाही प्रहरीले पक्राउ परेकाको पहिचान खुलाएको छैन। तर, घरमा काम गर्न वसेकै युवक पक्राउ परेको आशंका गरिएको छ। गएराति १ बजे सर्लाहीको चन्द्रनगर गाउँपालिका–१, रतनपुर घरमा धारिलो हतियार प्रहार गरेर ८० वर्षीय रायको हत्या भएको थियो।

मलंगवा नगरपालिकाका मेयर नागेन्द्र प्रसाद रायका दाजुसमेत रहेका राय धान रोपाइँको लागि एक साताअघि चन्द्रनगरस्थित घरमा बस्दै आएका थिए। उनी एकजना आफन्तसमेत रहेका कामदार रामउजैन रायसँगै घरमा बस्थे। रामचन्द्रका पत्नीसहितको परिवार भने काठमाडौँमा बस्दै आएका छन्।

रामउजैनले राति १ बजे स्थानीय प्रहरीलाई घटनाबारे खबर गरेका थिए। उनका अनुसार कुराकानी गर्न भन्दै राति ९ बजेतिर नचिनेका ३ जना मान्छे घरमा आएका थिए। त्यसपछि रामचन्द्रले रामउजैनलाई सुत्न पठाए। ३ जना ब्यक्ति उनीसँगै सुतेको रामउजैनको भनाई छ। राति १ बजेतिर उठेर हेर्दा रायलाई मृत फेला पारेको उनले बताएका छन्।

उनीहरु हाल फरार रहेको रामउजैनको भनाई छ। उनी दिउँसो मलंगवा नगरपालिका– ४ स्थित घर आएर पुनः चन्द्रनगर फर्किएका प्रहरीको अनुसन्धानले देखाएको छ। रायको उखु काट्न प्रयोग हुने दाउले टाउकामा प्रहार गरेर हत्या भएको प्रहरीले जनाउको छ। हतियार घर नजिकै बाँसघारीमा फेला परेको छ।

राय २०५४ सालमा सूर्यबहादुर थापाको प्रधानमन्त्रीकालमा भूमिसुधार राज्यमन्त्री बनेका थिए। उनी राप्रपाको गत महाधिवेशनमा उपाध्यक्ष उम्मेदवारसमेत थिए। मृतक राय तीन दाजुमध्ये माइलो हुन। उनका श्रीमती २ छोरा र ५ छोरी छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट