बेचन झा प्रकरणमा को–को तानिँदैछन् अनुशन्धानमा, उनकै कारण सरकार ढलेको सत्य हो ?

काठमाण्डौं– नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने अपराधमा बिचौलियाको भूमिका निर्वाह गरेका बेचन झालाई प्रहरीले गैरकानुनी थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा वन्दी प्रत्यक्षीकरण निवेदन दर्ता भएको छ।

नेपाल प्रहरीको विशेष ब्युरोको टोलीले झालाई नेपाल–भारत सीमावर्ती क्षेत्रबाट १४ असारमा पक्राउ गरेको थियो। हाल उनी काठमाडौँ प्रहरी परिसरको हिरासतमा छन्। झाका तर्फबाट छोरा विभांशुले गैरकानुनी थुनामा राखेको भन्दै बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्चमा दर्ता गराइएका हुन।

तर, प्रहरी अनुशन्धानमा भने झाले गिरोहबाट २ करोड रुपैयाँ बुझेको पाइएको थियो। उक्त प्रकरणमा पक्राउ परेका धापासीका रामशरण केसीले बेचनले मन्त्रिपरिषदबाट निर्णय गराउनका निम्ति २ करोड मागेको र आफूले चेक पनि दिएको बयान दिएका थिए।

केसीले ८ मंसिर ०७८ मा उनको घर थापागाउँमा ८ बजे राती दुई करोडको बताएका थिए। उनले बुझेको चेकको कपी नै अनुसन्धानको क्रममा फेला परेको थियो। त्यसपछि फरार रहेका उनी पक्राउ परेसँगै यसले राजनीतिक वृत्तमा धेरैको धड्कन वढेको चर्चा हुने गरेको छ। त्यसैका आधारमा हालै सरकार परिवर्तन हुँदै गर्दा तत्कालिन गृहमन्त्री रवि लामिछानेले संसदको रोष्ट्रममै उभिएर बेचन झाका कारण सरकार ढलेको दावी गरेका थिए।

उच्च स्रोतका अनुसार झाको सम्वन्ध नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नि एवम् वर्तमान परराष्ट्र मन्त्री आरजु राणा, कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्रबहादुर कार्की, विमलेन्द्र निधि, लोसपाका अध्यक्ष महन्थ ठाकुर, एमाले नेता टोपबहादुर रायमाझीलगायत सँग जोडिन्छ।

आरजुका भाइ भुषण राणासँग व्यवसायिक चिनजान रहेका झाले उनीमार्फत नै आरजुसँग सम्बन्ध स्थापित गरेको बताईन्छ। भुटानी शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण र गृहसचिव टेकनारायण पाण्डेसँग मिलीभगत गरेको आरोप लागेका झाले बिचौलियाहरूलाई गृहसचिवसँग भेटाउने कामको समन्वय गरेका थिए।

सिटौलाले पनि झालाई भेटेर कुरा सुनिदिनु भन्दै गृहसचिव पाण्डेलाई सिफारिस गरेको स्रोत बताउँछ। तत्कालीन उपप्रधान एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझीसँग पनि उनले नजिकको सम्बन्ध बनाएका थिए। यही प्रकरणमा टोपबहादुर पनि पक्राउ परेर प्रहरी हिरासतमा छन्। टोपबहादुर ऊर्जामन्त्री छँदा नै उनीसँग बेचनले सम्बन्ध विस्तार गरेको स्रोत बताउँछ।

को हुन बेचन झा ?
विश्वस्त स्रोतका अनुसार बेचन झा भारतीय नागरिक हुन। उनको घर विहारको मधुवनी जिल्ला हो। उनको विवाह भने सिरहाको देउरिपट्टीमा भएको हो। तराई कांग्रेसका संस्थापक नेता बेदानन्द झाका भाइ कुलानन्दका ज्वाइँ हुन् बेचन। विवाह गर्नका निम्ति नेपाल भित्रिएका उनी त्यसपछि आफ्नो देश गएनन्।

जेठाससुरा बेदानन्द झाकै लिगेसीबाट बेचन काठमाडौंमा स्थापित भएको र उच्च राजनीतिक नेतृत्वसँग सम्पर्क स्थापित गरेको बताईन्छ। पर्साको वीरगन्ज उपमहानगरपालिका–७ घर भएका बेचनको अहिलेको बसोबास काठमाडौंमै छ। उनको घर मध्यबानेश्वरस्थित चेल्सी कलेज र पाठशाला स्कूलको बीचमा छ।

भारतीय नागरिक भए पनि उनी ४० वर्षदेखि काठमाडौंमा बस्दै आएका छन्। शुरूमा नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँग राम्रो सम्बन्ध भएका उनले नै भारतीय च्यानल मिलाएर शेरबहादुर देउवालाई पहिलोपटक प्रधानमन्त्री बनाएको वताईन्छ। उनी आफैले यसको दावी गर्ने गरेका छन्।

यति मात्र नभई भारतीयसहित विदेशी ठेकेदारहरूको नेपाल प्रतिनिधिको रुपमा पनि काम गर्दै आएका छन् उनले। तर, हालसम्म उनीसँग नेपालको सक्कली नागरिक्ता भने नभएको स्रोत बताउँछ। उनले श्रीमतीको नामबाट कम्पनी र बैक खाता खोलेर ठेक्कापट्टा गर्दै आएको बताईन्छ।

बेचन जलविद्युत् क्षेत्रमा ठुला ठेकेदार हुन। विद्युत् प्राधिकरणका ठूला ठेक्काहरू प्रायः उनकै कम्पनीले पाउने गरेको थियो। प्राधिकरणमा हुने सरुवा÷बढुवामा समेत उनकै सोर्स–फोर्स चल्थ्यो। शुरूमा ठेक्कापट्टा गर्दै आएको ‘वेलकम ट्रेडर्स’ कालोसूचीमा परेपछि बेचनले थापागाउँमा ‘विभांशु ब्रदर्स’को नाममा कम्पनी खडा गरी कारोबार गर्दै आएका थिए।

ट्रान्सफर्मरदेखि ‘एअर कन्डक्टर’ खरिद र अन्य ठूला ठेक्काहरू उनकै रजगज थियो। भारतीय दूतावासदेखि प्रधानमन्त्री निवास बालुवाटार र सिंहदरबारसम्मै उनको आवतजावत सहज थियो। अहिले भने भारतीय दूतावाससँग उनको सम्बन्ध बिग्रिएको बताइन्छ।

भारतको मेघालयमा सञ्चालित सीएमजे युनिभर्सिटीका चान्सलर डा. चन्द्रमोहन झासँग २ करोड भारतीय रुपैयाँ लिएर फरार भएपछि बेचनविरुद्ध भारतमा मुद्दा चलेको छ। भारतीय प्रहरीले बेचनलाई ‘मोस्ट वान्टेड’का रूपमा खोजिरहेको स्रोतको दाबी छ।

उसो त चन्द्रमोहन र बेचन आफन्त हुन्। एकपटक उनले जनकपुरको जानकी मेडिकल कलेज खरिदका लागि भन्दै चन्द्रमोहनलाई हेलिकप्टरमा जनकपुर ल्याएका थिए। तर, कुरा नमिलेपछि कलेज किन्ने कुरा रोकिएको थियो।

बेचन जनमत पार्टीबाट उपराष्ट्रपति पदको उम्मेदवार बनेकी सप्तरीको महादेवा गाउँपालिकाको मधवापुर निवासी (अहिले स्थायी बसोबास राजविराज नगरपालिका–६) ममता झाका सम्धी पनि हुन। बेचनका जेठा छोरा विभांशुको विवाह पुर्वअञ्चालाधीश जगदिश झाकी छोरी ममताकी छोरीसँग भएको थियो। अहिले उनीहरूबीच सम्बन्धविच्छेद भइसकेको छ।

आश्चर्यको कुरा के भने विभांशु भारतमा दुईपटक अपहरणमा परेका थिए। १५ वर्षअघि आईएस्सी पढ्दै गर्दा पटनाबाट र त्यसपछि दिल्लीबाट विभांशु अपहरणमा परेका थिए। फिरौती बुझाएर उनलाई छुटाइएको स्रोतको भनाई छ। उनका एक छोरा हाल फ्रान्स र अर्का अमेरिकामा वस्छन्। एउटी छोरीको विवाह भारतमै भएको छ।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट