कहाँ थिए विश्वासको मत मागेर सदनबाट वेपत्ता भएका प्रधानमन्त्री ओली ?

काठमाण्डौं– प्रतिनिधि सभामा आईतबार प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मतसम्बन्धि प्रस्तावमा छलफल चलिरहेको थियो।

सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले राखेको विश्वासको मतसम्बन्धि प्रस्तावमा दुई घन्टा छलफल चल्ने सुरूमै बताएका कारण सदनमा सांसदको संख्या पातलिँदै थियो। घोर आश्चर्यको कुरा त प्रधानमन्त्री स्वयम् नै छलफलमा सहभागि थिएनन्। विश्वासको मत मागिसकेपछि छलफलमा भाग लिएका दलका नेताहरूले उठाएका प्रश्न सुनेर त्यसको जवाफ दिनु प्रधानमन्त्रीको नैतिक दायित्व हुन्छ। तर, उनी अरुको कुरा सुन्न सदनमा थिएनन्।

उनी आफ्नो प्रस्ताव राखेर संसदबाट बाहिरिएको धेरैले भेउ नै पाएनन्। सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बोलुञ्जेल बसेका उनी आफुलाई मत नदिने बताइसकेका दलका नेता बोल्न थालेपछि सदनबाट बाहिरिएका थिए।

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन तथा रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री सदनमा भए÷नभएको ख्याल गरेनन्। तर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भने प्रधानमन्त्री नभएको भेउ पाए। रित्तो कुर्सीतिर हेर्दै कतै बसेर सुनिरहनुभएको होला भन्दै प्रधानमन्त्री निर्वाचित भएकोमा खुसी व्यक्त गरे। धन्यवाद भने। अन्तिममा प्रस्तावको पक्षमा मत नदिने बताए।

तर, नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले भने ओलीप्रति शब्दका वाँण नै चलाए। उनले भने–‘मैले प्रधानमन्त्रीज्यूलाई देखिरहेको छैन। उहाँले आफ्नो विश्वासको निम्ति मत मागिरहनुभएको छ। तर उहाँ यो हलबाट बेपत्ता हुनुहुन्छ। उहाँले संसदलाई महत्व नदिएको लाग्यो। उहाँका लागि महत्वपूर्ण कुरा भनेको आजको सदनमा आजको पूरा समय उपस्थिति आवश्यक थियो। सबैका विचार, धारणाहरू सुन्ने धैर्य राख्नुपर्छ।’

अध्यक्ष नेपाल यतिमा मात्रै रोकिएनन्। ‘सम्भवतः अरूका वचन सहन नसक्ने ठान्नुभएको हो कि क्या हो ?’ भन्दै प्रश्न उठाए। त्यसपछि भने अन्य सांसदको पनि ध्यान प्रधानमन्त्रीको कुर्सीतिर गयो। मुखामुख गरे।

तर, प्रधानमन्त्री कहाँ गए भन्ने चै कसैले थाहा पाएनन्। संसद सचिवालयका कर्मचारीका अनुसार संघीय संसद भवनभित्र प्रधानमन्त्रीको छुट्टै कक्ष छ। प्रधानमन्त्री त्यहाँ बसेर आराम गर्ने, भेटघाट गर्ने गर्छन्। विश्वासको मत मागेर प्रधानमन्त्री ओली त्यहीँ गएका थिए।

ओलीले त्यहीँ बसेर ३२ इन्चको टेलिभिजनमा प्रस्तावमाथिको छलफल सुनेको कर्मचारीले बताए। प्रधानमन्त्री ओली राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी बोलिरहेका बेला भने फेरी सदनभित्र छिरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट