३ वटा सोनार क्यामरा र ४ जना गोताखोरसहित आएको भारतीय टोलीले आजबाट खोजी सुरु गर्ने

चितवन— नारायणगढ–मुग्लिन सडकखण्ड चितवनको भरतपुर महानगरपालिका– २९, सिमलतालमा पहिरोमा परी त्रिशुलीमा वेपत्ता बस र यात्रु खोज्न आएको भारतीय गोताखोर टोलीले आजबाट काम सुरु गर्ने भएको छ।

शनिबार दिउँसो चितवन पुगेको भारतीय नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) को चारजना गोताखोरसहितको १२ सदस्यीय टोली जिल्ला प्रशासन कार्यालय चितवनमा छलफलपछि कुरिनटारमा रहेको सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय गएको थियो। टोली राती कुरिनटारमै रहेको छ।

भारतीय टोलीले आजबाट खोजी सुरू गर्ने योजना बनाएको शिक्षालयका सहसमादेशक सशस्त्र प्रहरी उपरीक्षक जनक पुरीले जानकारी दिए। पानीमुनि खोजतलासमा प्रयोग हुने यन्त्र उपकरणलगायत सेटसहित उनीहरु आएका छन्। उनीहरुले तीन वटा अत्याधुनिक सोनार उपकरण पनि ल्याएको पुरीले जानकारी दिए।

ती उपकरणले पानीभित्र ३० फिट तलसम्म हेर्न मिल्ने उनको भनाई छ। टोली सात दिनसम्म रहने उनले बताए। नेपालको स्रोतसाधनले बसको अवस्था पत्ता लगाउन नसकेपछि सरकारले खोजीका लागि अन्तर्राष्ट्रिय उद्धार टोली मगाएको हो। गृह मन्त्रालयले परराष्ट्रमार्फत भारतीय उद्धार टोली मगाएको थियो।

खोजतलासका क्रममा शनिबार साँझसम्म ४ महिला र २१ पुरूष गरी २५ शव फेला परेका छन्। तीमध्ये २ महिला र १६ पुरूष गरी १८ जनाको शवको सनाखत भएको छ। हराइरहेका २ बसमा ९ जना भारतीय नागरिकसमेत थिए। जसमध्ये ५ जनाको शव फेला परेको चितवनका सीडीओ इन्द्रदेव यादवले जानकारी दिए।

फेला परेका सवै शवलाई दुर्घटनामा परेका बसका यात्रु नै मान्दा अझै पनि ३७ जना वेपत्ता छन्। २८ असारको विहान करिव साढे ३ बजे लेदोसहितको पहिरोले वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्सलाई त्रिशूलीमा खसालेको थियो।

दुवै बसमा ६५ जना यात्रु सवार रहेको बताइएको छ। ती मध्ये ३ जनाले बसको झ्यालबाट निस्किएर ज्यान बचाएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट