सिमलताल पहिरोमा परेको एन्जल डिलक्सका चालकका छोराछोरी वीरगञ्ज महानगरले पढाउने

वीरगन्ज– चितवनको भरतपुर महानगरपालिका–२९, सिमलतालको पहिरोमा परी त्रिशूलीमा बेपत्ता एन्जल डिलक्सका चालकका छोरा–छोरी वीरगन्ज महानगरपालिकाले पढाउने भएको छ।

२८ असारको विहान नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता बनाएको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जेल डिलक्सका चालक जवाहीर महतोको अवस्था अझै अज्ञात छ।

वीरगन्ज–१६ नगवा फूलबारी टोल निवासी ३६ वर्षीय महतोका बुबा ६६ वर्षीय भगवान महतो, आमा फुलेनादेवी, श्रीमती प्रतिमा, छोरी प्रिति तथा छोराद्वय आयुष र बिटु छन्। छोरी १३ वर्षीया प्रिती कक्षा ८ मा, जेठो छोरा आयुष कक्षा ४ मा र कान्छो छोरा बिटु युकेजीमा अध्ययनरत छन्।

उनीहरुको पढाई लेखाईको जिम्मा महानगरपालिकाले लिने मेयर राजेशमान सिंहले घोषणा गरेका छन्। जवाहिरका बुबा भगवान महतोसहित परिवारसँग भेट गरेका मेयर सिंहले बालबालिकाको शिक्षादीक्षाको जिम्मा महानगरपालिकाले लिने बताए। परिवारको जीविकोपार्जनका लागि पनि आवश्यक व्यवस्था मिलाउन महानगर तयार रहेको उनको भनाई छ।

एन्जल डिलक्सका मालिक माइला लामिछाने केसी भने मृत फेला परेका छन्। उनको शव घट्नाको ८ दिनपछि शुक्रबार विहान भारतीय भुमिमा फेला परेको हो। भक्तपुर र मकवानपुर दुवै ठाउँमा बसोबास गर्दै आएका केसीको शव त्रिवेणी भन्दा ४० किलोमिटर दक्षिणस्थित भारती क्षेत्र चम्पारण नगाहा स्थित नारायणी नदीमा फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका डिएसपी बेदबहादुर पौडेलका अनुसार मृतकले लगाएको घडी र बालाका आधारमा शवको पहिचान भएको हो। केसीले बायाँ हातमा अंग्रेजी अक्षर आरबीएस लेखिएको ट्याटु र बायाँ हातमा कालो चेनको घडी लगाएका छन। यी सबै प्रमाणका आधारमा मृतकका भाइले उनको शव सनाखत गरेको प्रहरीले जनाएको छ।

लेदोसहितको पहिरोले वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्सलाई त्रिशूलीमा खसालेको थियो।

दुवै बसमा ६५ जना यात्रु सवार रहेको बताइएको छ। ती मध्ये ३ जनाले ज्यान बचाएका थिए। वेपत्ता यात्रुको खोजी भईरहेको छ।


प्रतिक्रिया

One thought on “सिमलताल पहिरोमा परेको एन्जल डिलक्सका चालकका छोराछोरी वीरगञ्ज महानगरले पढाउने

  1. यो सारै हृदयविदारक दैविय बिपती हो ।यस घटनामा ज्यान गुमाउने परिवारजनहरूमा हर्दिक समबेदना प्रकट गर्दै मृतकहरू प्रति हार्दिक श्रद्धाञ्जली सहित मेयर साहेबले गर्नु भयेको उद्घोषको लागि मेयर राजेशमानज्यूलाई हृदय देखि आभार ब्यक्त गर्दछू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट